१० हिमाली जिल्लामा खोप

रासस

सोमबार, ०४ असोज २०७८, २० : २३
१० हिमाली जिल्लामा खोप

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १० हिमाली जिल्लामा १८ वर्षमाथिकालाई आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सञ्चालन गरिएको जनाएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती जिल्लाका १८ वर्षभन्दा माथिका सबैलाई आजदेखि यही असोज १४ गतेसम्म कोरोना भाइरस विरुद्धको पहिलो मात्राको खोप अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । 

उहाँका अनुसार ताप्लेजुङ, सङ्खुवासभा,  सोलुखुम्बु, रसुवा, जुम्ला, मुगु, हुम्ला, डोल्पा, बाजुरा र दार्चुलामा १८ वर्षभन्दा माथिका सबैलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन थालिएको हो । सरकारले शुक्रबारमात्र चीन सरकारबाट खरिद गरिएको ४४ लाख मात्रा भेरोसेल खोप ल्याएको थियो । 

यस्तै काभ्रे र चितवनमा पनि १८ वर्ष भन्दा माथि छुटेका विद्यार्थी र ३५ वर्षमाथिका सबैलाई खोप लगाउन थालिएको छ । उहाँले अभियानकै क्रममा काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रामेछाप, सर्लाही र अछाम जिल्लामा ४० वर्ष माथिका खोप लगाउन बाँकी र १८ वर्ष माथिका खोप लगाउन छुटेका विद्यार्थीलाई खोप लगाइने छ । 

यस्तै, मनाङ्, मुस्ताङ र पूर्वी रुकुम वाहेकका ५५ जिल्लामा ४५ वर्षमाथिका खोप  लगाउन बाँकी सवै नागरिक र १८ वर्षमाथिका  खोप लगाउन छुटेका विद्यार्थीलाई पनि अभियानकै क्रममा खोप लगाइने उनले बताए । पहिलो मात्रा खोप लगाइसकेका लागि कात्तिक ४ देखि कात्तिक १४ गतेसम्म भेरोसेलको दोस्रो मात्राको खोप प्रदान गरिने छ । 

आजैदेखि यसअघि पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्राको खोप अभियान पनि सञ्चालन गरिएको छ । दोस्रो मात्रा आजदेखि असोज ६ गतेसम्म काठमाडौं जिल्लामा सञ्चालन भइरहेको छ । 

मन्त्रालयले खोप लगाउनका लागि आफ्नो परिचय खुल्ने परिचय पत्र लिएर जान समेत अनुरोध गरेको छ । अहिलेसम्म नेपालमा पहिलो मात्रा ६२ लाख तीन हजार ३१६ जनाले र पूर्णमात्रा ५५ लाख ७८ हजार ८६५ जनाले लगाइसकेका छन् ।