ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

सफल खबर संवाददाता

सोमबार, ०४ असोज २०७८, १२ : ३०
ओकसका कारण परमाणु हतियारको होडबाजीको खतरा : उत्तर कोरिया

काठमाडौं । अमेरिका, बेलायत र अस्ट्रेलियाबीच भएको सुरक्षा सहकार्यसम्बन्धी नयाँ सम्झौता ओकसको उत्तर कोरियाले निन्दा गरेको छ। सो सम्झौताले परमाणु हतियारको होडबाजी सुरु हुन सक्ने चेतावनी उत्तर कोरियाले दिएको हो।

उत्तर कोरियाका एक परराष्ट्र अधिकारीले ओकस सम्झौताले एसिया–प्रशान्त क्षेत्रको रणनीतिक सन्तुलनलाई बिगार्न सक्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। सम्झौताको चीनले यसअघि नै आलोचना गरेको थियो। अहिले उत्तर कोरियाले पनि निन्दासहित परमाणु हतियारका लागि होडबाजी हुनसक्ने चेतावनी दिएको हो।

ओकसअन्तर्गत अमेरिका र बेलायतले परमाणु क्षमतायुक्त सबमरिन बनाउनका लागि अस्ट्रेलियालाई सहयोग गर्ने छन्। यो सम्झौतासँगै फ्रान्स रुष्ट भएको छ। फ्रान्सले आफूसँग ठेक्का सम्झौता भएको अवस्थामा ढाँटेर सुरक्षा सम्झौता गरिएको बताएको छ। फ्रान्सले विचार विमर्शका लागि भन्दै अस्ट्रेलिया र अमेरिकामा रहेका आफ्ना राजदूतलाई पनि फिर्ता बोलाएको छ।

ओकस सम्झौतासँगै अस्ट्रेलियासँग भएको फ्रान्सको ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का अन्त्य भएको छ। अस्ट्रेलियन नौसेनाका लागि १२ वटा सबमरिन बनाउनेसम्बन्धी ५० बिलियन अस्ट्रेलियन डलर बराबरको ठेक्का सन् २०१६ मा फ्रान्सले पाएको थियो।

चीनको सामना गर्नका लागि अमेरिका, बेलायत र अस्ट्रेलियाले विशेष सुरक्षा सम्झौता ओकसको घोषणा गरेका थिए। विकसित सुरक्षा प्रविधि एकअर्कामा साझा गर्नका लागि तीन देशले सम्झौता गरेको जनाएका थिए। तर सो सम्झौता आफ्नो हितमा नरहेको देखेपछि फ्रान्स रुष्ट बनेको हो।

चीनको बढ्दो शक्ति तथा इन्डो–प्यासिफिक क्षेत्रमा उसको बढ्दो सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित छन् र सोही चिन्ताको परिणामस्वरुप सहकार्य सम्झौता भएको हो। गएको बुधबार अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियन प्रधानमन्त्री स्कट मोरिसनले संयुक्त वक्तव्य जारी गरेर नयाँ सुरक्षा सहकार्यसम्बन्धी सम्झौता ओकस घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस