एजेन्सी । उत्तर कोरियाले सन् २०२६ कै पहिलो ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न आक्रमण गरेकै समयमा किम जोङ उनले पूर्वी सागरमाथि कम्तीमा दुई क्षेप्यास्त्र प्रहार गरेका हुन्।
रोयटर्सका अनुसार दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ चीनको राजकीय भ्रमणमा गएकै दिन र अमेरिकाले भेनेजुएलामा आक्रमण गरेपछि क्षेप्यास्त्र प्रहार गरिएको हो।
परमाणु हतियार र लामो दूरीका मिसाइल परीक्षणलाई निरन्तरता दिँदै आएको उत्तर कोरियाप्रति अमेरिका अत्यन्त सतर्क देखिँदै आएको छ । विज्ञहरूका अनुसार उत्तर कोरियाको सैन्य क्षमता, अनिश्चित नेतृत्व र क्षेत्रीय शक्ति सन्तुलनका कारण अमेरिका सीधा सैन्य कदम चाल्नबाट जोगिँदै आएको हो ।
उत्तर कोरियासँग परमाणु हतियार तथा अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) रहेको दाबी छ, जसले अमेरिकी भूभागसम्म आक्रमण गर्न सक्ने क्षमता विकास गरेको बताइन्छ । यही सम्भावनाले अमेरिकी सुरक्षा रणनीतिमा उत्तर कोरियालाई उच्च जोखिमको रूपमा राखिएको छ ।
विशेषज्ञहरूका अनुसार उत्तर कोरियाको नेतृत्व संरचना बन्द र व्यक्ति–केन्द्रित भएकाले त्यहाँबाट आउने निर्णय पूर्वानुमान गर्न गाह्रो हुने गर्छ । किम जोङ–उनको नेतृत्वमा कुनै पनि बेला उत्तेजक सैन्य कदम चालिन सक्ने आशंकाले अमेरिका थप सतर्क बनेको देखिन्छ ।
यसका साथै दक्षिण कोरिया र जापान अमेरिकाका प्रमुख सैन्य साझेदार देश हुन् । उत्तर कोरियाले यी मुलुकलाई लक्षित गरी हमला गरेमा अमेरिका प्रत्यक्ष रूपमा युद्धमा तानिन सक्ने जोखिम रहन्छ । सियोल उत्तर कोरियाबाट केही मिनेटमै पुग्ने मिसाइल दूरीमा रहेकाले अवस्था झन् संवेदनशील मानिन्छ ।
कोरियन प्रायद्वीपमा युद्ध सुरु भएमा ठूलो मानवीय क्षति, क्षेत्रीय अस्थिरता र विश्व अर्थतन्त्रमा गम्भीर असर पर्न सक्ने विज्ञहरूको आकलन छ । यसै कारण अमेरिका सैन्य हस्तक्षेपभन्दा कूटनीति, प्रतिबन्ध र अन्तर्राष्ट्रिय दबाबको रणनीतिमा केन्द्रित हुँदै आएको छ ।
उत्तर कोरियासँग चीन र रूसको सम्बन्धलाई पनि अमेरिकाले गम्भीर रूपमा हेरिरहेको छ । उत्तर कोरिया–अमेरिका तनाव चर्किँदा चीन र रूससमेत संलग्न हुन सक्ने सम्भावनाले यो विषयलाई विश्व शक्ति सन्तुलनसँग जोडिएको जटिल मुद्दा बनाएको छ ।
अमेरिकाले उत्तर कोरियामाथि कडा आर्थिक तथा कूटनीतिक प्रतिबन्ध लगाउँदै आए पनि उत्तर कोरियाले परमाणु र मिसाइल कार्यक्रमलाई निरन्तरता दिइरहेको छ । यसले अमेरिका र उसका सहयोगी देशहरूका लागि सुरक्षा चुनौती थप गहिरिएको विश्लेषकहरू बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ पुस २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
उत्तर कोरियाविरुद्ध सैन्य गठबन्धन नगर्न रूसको चेतावनी
उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिणको दावी
उत्तर कोरियाले थप तीन हजार सैनिक रूस पठाउने