आङसाङ सुकी अदालतमा उपस्थित

एजेन्सी

मंगलबार, २९ भदौ २०७८, १६ : ०८
आङसाङ सुकी अदालतमा उपस्थित

यांगुन । खराब स्वास्थ्यको कारण अदालतले बोलाएको दिन उपस्थित हुन नसकेकी म्यानमार नेतृ आङसान सुकी मंगलबार भने उपस्थित भएकी छिन् । अहिले पनि स्वस्थ हुन नसकेको उनका वकिलले बताएका छन् ।

सैनिक सरकारलाई चुनौति दिँदै लामो समय घरमै नजरबन्दमा बिताएकी ७६ वर्षिय सुकीको स्वास्थ्यलाई लिएर चासोपूर्वक हेरिएको छ । फेबु्रअरी १ मा सेनाले सत्ताच्युत गरेपछि सुकीविरुद्ध धेरै आरोपमा मुद्दा चलाइएको छ ।

रिंगटा लाग्ने र निद्रा नपुगेको जस्ता समस्यालाई कारण देखाउँदै सुकी सोमबार अदालतमा उपस्थित हुन नसकेको जनाइएको छ । ‘उनको स्वास्थ्यमा केही सुधार आएको छ तर अहिले पनि रिंगटा चलेको महसुस भएको छ’ मुख्य वकिल खिन मौङ जले भने ।

सुकीविरुद्ध कोभिड–१९ नियम उल्लंघन गरेको, दुइतर्फी रेडियो संचार कायम राखेको, पैसा र सुन लिएर भ्रष्टाचार गरेको, गोप्य सूचना चुहाएर नियम उल्लंघन गरेकोजस्ता आरोप लगाइएको छ । तर, उनका वकिलले भने यी आरोपको खण्डन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस