विश्वप्रकासले छोडेकै हुन त देउवा गुट !

सफल खबर संवाददाता

मंगलबार, २९ भदौ २०७८, १० : १३
विश्वप्रकासले छोडेकै हुन त देउवा गुट !

काठमाडौं । २०७४ सालको आमनिर्वाचनमा नेपाली कांग्रेस पार्टी नराम्रोसँग पराजित भयो । पार्टी पराजित भएपछि नेपाली कांग्रेसमा देउवाको तीव्र आलोचना भयो। देउवा पार्टीभित्रै घेराबन्दीमा परे । देउवाको आलोचना बढ्दै गयो । 

यस्तो बेला देउवाले आफ्नो प्रतिरक्षाको लागि एक जना आफूले भनेजस्तो प्रवक्ता खोजे । देउवाले आफ्नो प्रतिरक्षा गर्ने र पार्टीका हरेक गतिविधिलाई प्रभावकारी ढंगले सम्प्रेषण गर्ने व्यक्ति खोज्दाखोज्दै गगन थापालगायतको नाम आयो । पार्टी पराजयपछि पार्टीभित्र र बाहिरबाट देउवामाथि घेरबन्दीको अवस्थालाई चिर्न सक्ने व्यक्तिको सुचीमा विश्वप्रकास शर्मा पनि नाम आयो । सुरुमा गगन थापालाई प्रवक्ता बनाउने तयारी देउवाले गरेका थिए। तर देउवाले विभिन्न कोणबाट हेर्दा विश्वप्रकाश शर्मालाई नै ठीक देखे । शर्मालाई २०७४ पुस २५ गते प्रवक्ताको जिम्मेवारी सुम्पिए देउवाले। 

प्रवक्ता बनेपछि शर्मा सभापति देउवाको ‘किचन क्याबिनेट’सम्म पुग्न सफल भए। पार्टीको प्रचार विभाग प्रमुखसमेत बनाइएका शर्मा देउवाले विवादित अभिव्यक्ति दिनासाथ त्यसको प्रतिरक्षा गरिहाल्थे। एक हिसाबमा देउवालाई शर्माले सहयोग गरेका पनि थिए। विश्वप्रकासले देउवाको प्रतिरक्षा गर्न थालेपछि पार्टीमा उनलाई सजिलो हुँदै आयो । नेताहरुको घेराबन्दी विस्तारै फुस्किदै गयो । भित्रभित्रै देउवा विश्वप्रकाशजस्तो प्रवक्ता पाउँदा खुसी नै भए ।

१३ औं महाधिवेशनमा देउवा समूहबाटै पहिलो पटक केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्माले देउवाको गलत कामको पनि डिफेन्स गर्न थाले । प्रवक्ताको भूमिका उनले दह्रोसँग निभाए । उनको भूमिकालाई लिएर अन्य पार्टीका शीर्ष नेताहरु पनि हच्किन्थे । शर्माको कामबाट देउवा अचानक खुसी भए । 

मोडियो बाटो...
भदौ २४ गते बीपी जयन्तीको अवसर पारेर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आगामी महाधिवेशनमा महामन्त्री लड्ने घोषणा गरे। बीपी जयन्तीका दिन बीपी संग्रहालय सुन्दरीजल पुगेर महामन्त्रीमा लड्ने घोषणा गरेपछि कांग्रेसवृत्तमा बहस हुनु असामान्य होइन। यही बहसमा एउटा विषय उब्जिएको छ, सभापति शेरबहादुर देउवा पक्षका नेता भनेर चिनिएका कांग्रेस प्रवक्ता शर्माको एकल उम्मेदवारी घोषणा गरे । 

शर्माको घोषणाबाट देउवा गुटमा हल्लीखल्ली भयो । सल्लाहबेगर अचानक शर्माले महामन्त्रीमा लड्ने घोषणा गरेपछि देउवाले निको मानेनन् । देउवा निकटका धेरै नेताहरु महामन्त्रीको दावेदार छन् । देउवालाई महामन्त्रीमा कसरी मिलाउने भन्ने चुनौती थियो । तर अचानक शर्माले देउवा समूहसँग सल्लाह नगरी महामन्त्रीको उम्मेदवार घोषणा गरेपछि नेताहरु छक्क परेका छन् । 
देउवा निकटका अनुसार केही महिनायता शर्मा देउवाको कोर’ टिमबाट किनारा लागेको अवस्था थियो। देउवानिकटका धेरै नेताहरुले महामन्त्रीमा दावी गर्न थालेपछि टिकट पाउने सम्भावना क्षीण देखे । त्यसपछि देउवा समूहसँग सल्लाह नगरी शर्माले एकल उम्मेदवारी घोषणा गरेर बूढानीलकण्ठको कम्पाउन्ड बाहिर निस्किएको संकेत गरेका छन्। 

कांग्रेस देउवा समूहबाट बालकृष्ण खाँड, ज्ञानेन्द्रबहादुर कार्की, डा प्रकाशशरण महत, एनपी साउदलगायतका नेताहरू महामन्त्रीका आकांक्षी छन्। महामन्त्रीका आकांक्षी धेरै हुँदा आफ्नो सम्भावना कमजोर देखेका शर्मा बूढानीलकण्ठको घेरा तोडेको विश्लेषण हुन थालेको छ । शर्माले देउवा गुट छोडेको देउवानिकटका नेताहरु बताउन थालेका छन् । 

देउवा निकट एक नेता देउवा टिमबाट किनारा लाग्दै गएको दाबी गर्छन्। ‘महामन्त्रीमा मेरो पनि दाबी छ। हामी लामो समययता शेरबहादुर दाइलाई सघाउँदै आएका छौं,’ संस्थापन समूहबाट महामन्त्रीका आकांक्षीसमेत रहेका ती नेताले भने, ‘विश्वजी पछिल्लो समय टिमबाट किनारा लाग्दै जानुभएको छ, उहाँले सल्लाह नगरी उम्मेदवार घोषणा गर्नुभएको छ ।’ 

देउवा निकटका एक नेताका अनुसार विगतमा झापाको राजनीतिमा कृष्ण सिटौला पक्षले पेल्दा देउवा पक्षले सघाउँदै शर्मालाई पार्टी प्रवक्ता बनाएको हो । तर अहिले सल्लाह नगरी आफैँ उम्मेदवार बन्दा अचम्म लागेको ती नेताले बताए । महामन्त्रीमा उम्मेदवारी घोषणा गर्नुअघि शर्माले प्रधानमन्त्रीसमेत रहेका देउवालाई भेटेका थिए। भेटमा शर्माले महामन्त्रीमा लड्ने योजना बनाएको र उम्मेदवारी घोषणा गर्न लागेको जानकारी गराए।

‘हाम्रो टिम महाधिवेशनको तीन दिनअघि घोषणा होला। त्यतिबेला प्रचार गर्नसमेत समय अभाव हुनेछ। मैले अहिले नै उम्मेदवारी घोषणा गरेँ भने मेरो मात्र होइन, तपाईंको समेत प्रचार हुनेछ। त्यसैले म महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु, प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शर्माले देउवासँग भनेका थिए। देउवाले ठोस जवाफ दिएनन्। ‘हुन्छ, हुन्छ तिमीले जानेको गर’ भने ।

प्रतिक्रिया दिनुहोस