मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी

शनिबार, २६ भदौ २०७८, १२ : ५८
मोरक्कोमा नयाँ प्रधानमन्त्री नियुक्त

मोरक्कोमा शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरिएको छ । ​मोरक्कोका राजा मोहम्मद छैठौँले अजिज अखान्नौचलाई नयाँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका हुन् ।नेस्नल र्याली अफ इन्डेपेन्डेन्ट आरएनआईका अध्यक्षसमेत रहेका अखान्नौचलाई मन्त्रिपरिषद् गठन गर्ने जिम्मेवारीसमेत राजाले दिएका छन् । 

यही सेप्टेम्बर ८ मा भएको निर्वाचनको नतिजाका आधारमा उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राजदरवारबाट प्रकाशित वक्तव्यमा उल्लेख गरिएको छ । निर्वाचनमा उनको पार्टीले जित हासिल गरेको छ । प्रधानमन्त्रीमा नियुक्त भएका अजिज अहिले ६१ बर्षको भएका छन् । उनले सन् २००७ देखि २०१७ सम्म कृषि मन्त्रीका रुपमा सेवा गरेका थिए ।  

उनको आगमनसँगै जस्टीस एण्ड डेभ्लभमेन्ट पार्टीको सरकार अन्त्य भएको छ । सो पार्टीले गत सन् २०११ देखि गठवन्धन सरकार चलाउदै आएको थियो । मरक्कोमा गत बुधबार तल्लो सदनका सदस्य र स्थानीय तहका प्रतिनिधि चयनका लागि मतदान भएको थियो । 

निर्वाचनका लागि देशभरी झन्डै एक करोड ७५ लाख आधिकारीक मतदाता रहेका थिए । कोरोनाभाइरसको महामारीलाई मध्यनजर गर्दै मतदान केन्द्र तोकिएको र मतदान केन्द्रमा भीडभाड नहुने व्यवस्था गरिएको थियो । 

तल्लो सदनका लागि देशभरीबाट ३९५ जना छानिने गरी निर्वाचन भएको थियो । त्यसैगरी स्थानीय प्रतिनिधिका रूपमा झन्डै ३१ हजार चुनिने गरी निर्वाचन भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनका लागि मोरक्कोका मात्रै झण्डै चार हजार ५०० र विदेशी झण्डै १०० निकायका पर्यवेक्षक खटिएका थिए ।निर्वाचन आयोगले प्रान्तीय परिषद्को निर्वाचन भने यही सेप्टेम्बर २१ र माथिल्लो सदनको निर्वाचन अक्टोबर ५ मा गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस