रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको नेतृत्वमा सुरु भएको सरकारविरोधी आन्दोलन झन् तीव्र बन्दै गएको छ। अघिल्लो रात सुरक्षाकर्मीले गोली चलाउँदा तीन जनाको मृत्यु भएपछि थप हिंसाको आशङ्का बीच बिहीबार साँझ पनि कम्तीमा एक दर्जन सहरमा प्रदर्शन निरन्तर जारी रह्यो।
प्रदर्शनकारीहरूले विशेषगरी उच्चस्तरीय विद्यालय र गुणस्तरीय अस्पतालहरूको माग अघि सारेका छन्। धेरैले प्रधानमन्त्री अजिज अखान्नोचलाई राजीनामा दिन आह्वान गरेका छन्। राजधानी रबातदेखि व्यावसायिक केन्द्र कासाब्लान्कासम्म युवाहरूको ठूलो भीड सडकमा उत्रिएको छ।
आन्दोलनका माग र नाराहरू
सुरुमा शान्तिपूर्ण रहे पनि केही ठाउँमा आन्दोलन हिंसात्मक बनेको छ। बुधबार मात्र बैंक लुटिएका, कारहरू जलाइएका र सार्वजनिक सम्पत्ति नष्ट भएको थियो। त्यही क्रममा प्रहरीले गोली चलाउँदा तीन जनाको मृत्यु भएको थियो।
मोरक्कोमा राजा मोहम्मद छैटौँ सर्वोच्च शासक भए पनि प्रदर्शनकारीहरूको असन्तोष मुख्यतया सरकारतर्फै केन्द्रित छ। बिहीबारको प्रदर्शनमा सयौँ युवाले ‘जनताले अखान्नोचलाई हटाउन चाहन्छन्’ र ‘सरकार हटाऊ’ भन्ने नारासहित राजालाई हस्तक्षेप गर्न आग्रह गरेका थिए।
प्रधानमन्त्रीको प्रतिक्रिया
प्रधानमन्त्री अजिज अखान्नोचले पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै मृतकप्रति शोक व्यक्त गरे। सुरक्षाकर्मीहरूले कानून र व्यवस्था कायम गर्न गरेको प्रयासको प्रशंसा गर्दै उनले सरकार संवादमार्फत समाधान खोज्न इच्छुक रहेको सङ्केत गरे ।
“संवादमै आधारित दृष्टिकोण नै हाम्रो देशका समस्याहरू समाधान गर्ने एक मात्र बाटो हो,” उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ असोज २०८२, ११ : ३१
लेखकबाट थप