गुटबन्दीभन्दा पनि योग्यता र दक्षता प्राथमिकतामा– मुख्यमन्त्री पोखरेल

रासस

शुक्रबार, २५ भदौ २०७८, २२ : ११
गुटबन्दीभन्दा पनि योग्यता र दक्षता प्राथमिकतामा– मुख्यमन्त्री पोखरेल

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा कार्यकर्ताले गुटबन्दीभन्दा पनि योग्यता र दक्षताका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत पोखरा महानगर समितिको अधिवेशनको आज आयोजित उद्घाटन समारोहमा उहाँले जनताको भरोसाको केन्द्र कांग्रेस भएकोले आन्तरिक स्वस्थ प्रतिस्पर्धामार्फत नेतृत्वमा आउन  कार्यकर्तालाई आग्रह गरे ।

गुटबन्दीको राजनीतिभन्दा योगदान, समर्पण र दक्षता एवं योग्यताका आधारमा नेतृत्व चयन गर्न मतदातालाई सुझाव दिँदै उहाँले पार्टी सङ्गठनलाई सशक्त बनाएर लैजान सक्ने नेतृत्व आवश्यक भएको बताए ।

पोखरा महानगर समितिको अधिवेशनले आगामी कार्यकालका लागि १६५ सदस्यीय कार्यसमिति चयन गर्नेछ । नेतृत्वमा एक महिलासहित छ जनाको सभापतिमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत आरसी विमलले जानकारी दिए । उनका अनुसार समितिको पदाधिकारी चयनका लागि हुने निर्वाचनका लागि कुल मतदाता एक हजार ३७० मतदाता छन् ।

महानगरको सभापति पदका लागि सुरेन्द्रमान बिजुक्छे, रामराज लामिछाने, मोहनप्रसाद बास्तोला, मिलन तिवारी, गङ्गाधर पराजुली र ज्योति हमालले उम्मेदवारी दिएका छन् ।  

यसैबीच महानगरमा सभापतिको उम्मेदवारी दिएका गङ्गाधर पराजुलीले आज पत्रकार सम्मेलन गर्दै पोखरा महानगरपालिकामा नेपाली कांग्रेसलाई सबैले भरोसा गर्ने पार्टीका रूपमा स्थापित गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

लामो समय पत्रकारिता क्षेत्रमा बिताउनुभएका पराजुलीले यसअघि नेपाल पत्रकार महासङ्घ तथा नेपाल प्रेस युनियनको केन्द्रीय उपसभापतिका साथै रासस सञ्चालक समितिको सदस्य एवं न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षलगायतका जिम्मेवारी सम्हालेका हुन् । 

प्रतिक्रिया दिनुहोस