‘एशियाली मुलुकले सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने’

रासस

विहीबार, २४ भदौ २०७८, २१ : २९
‘एशियाली मुलुकले सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने’

काठमाडौं । एशियाली मुलुकहरुले आगामी सन् २०५० सम्ममा पानीको चरम सङ्कट भोग्नुपर्ने अवस्था देखिएकाले त्यसतर्फ ध्यान दिन जरुरी रहेको बताइएको छ ।

प्रmेन्डसीप फोरम फर नेप्लिज जर्नालिस्ट (एफएफएनजे) ले आयोजना गरेको ‘एशियाको जलस्रोतको उपयोगमा क्षेत्रीय सहयोग तथा नेपालको दृष्टिकोण’ विषयक छलफल कार्यक्रममा विज्ञहरुले समयमै पानीको जोहो र व्यवस्थापन गर्ने विकल्प नखोजे हाहाकार हुने बताएका हुन् । 

पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष लोककृष्ण भट्टराईले हरेक मुलुकको अवधारणा सम्बन्धित व्यक्ति स्वयंले नै बनाउनुपर्ने बताउँदै इन्धनलगायत सोबाट चल्ने वस्तुको निषेध गरी विद्युतीय सामग्री प्रयोगमा जोड दिन आग्रह गरे ।

जलस्रोतविज्ञ रतन भण्डारीले विश्वको दुई तिहाइभन्दा बढी भाग पानीले ढाकेको भए पनि ९७ प्रतिशत नुनिलो र बाँकी तीन प्रतिशतमा केवल दुई प्रतिशत हिउँ र हिमनदीका रूपमा रहेको जानकारी दिए । उनले भने, “भारतबाट बाढी नियन्त्रण र सिँचाइमा प्रयोग गरेको पानीको मूल्य लिन मुलुकले विगतमा गरेका कोशीका साथै गण्डक र महाकाली सम्झौताको तत्काल पुनरावलोकन गर्नुपर्ने देखिन्छ ।”

रुसका लागि पूर्वनेपाली राजदूत हिरण्यलाल श्रेष्ठले अबको तेस्रो विश्वयुद्ध पिउने पानीको हाहाकारमा मच्चिने धारणा राख्दै दक्षिण एशियामा पानीलाई समृद्धिको शताब्दी बनाउन चीनलगायतका मुलुकहरुसँग छलफल गरी अघि बढ्नुपर्ने बताए ।

पूर्वजलस्रोत मन्त्री तथा विज्ञ दीपक ज्ञवालीले पानीलाई बजारिया स्रोत मात्रै  नबनाएर रणनीतिक स्रोत बनाउन आग्रह गर्नुभयो । उनले भने , “नेपालको ७० प्रतिशत पानी छिमेकी मुलुक भारत जाने भएकाले त्यसतर्फ विशेष ध्यान दिन जरुरी छ ।”

चीनका लागि पूर्वराजदूत टङ्क कार्कीले पुराना तौरतरिका र शैलीबाट मात्रै मुलुक नबन्ने बताउँदै सम्बन्धित व्यक्तिले जलस्रोतका क्षेत्रमा संवेदनशील र जिम्मेवार भएर लाग्नुपर्ने भनाइ राखे । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागरकुमार राईले सरकार राष्ट्रिय गौरवको योजनामा लागिरहेको चर्चा गर्दै मुलुकवासीमा बिजुलीबाट चल्ने वस्तुको प्रयोग बढाउन छलफल भइरहेको जानकारी दिए । छलफलमा एशियाका छ वटा प्रमुख नदीको उद्गमस्थल चीनको तिब्बत रहेको र विश्वको ४६ प्रतिशत जनसङ्ख्या ती नदीका पानीमा आश्रित रहेको जानकारी दिइयो ।