विद्यार्थीबाट चर्को शुल्क उठाएर होटल–रिसोर्टमा कार्यक्रम नगर्न चितवनका कलेज–स्कुललाई सिडिओको चेतावनी

सफल खबर संवाददाता

विहीबार, ०७ जेठ २०८३, २१ : ०१
विद्यार्थीबाट चर्को शुल्क उठाएर होटल–रिसोर्टमा कार्यक्रम नगर्न चितवनका कलेज–स्कुललाई सिडिओको चेतावनी

चितवन। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विद्यार्थीबाट लाखौँ रुपैयाँ उठाएर होटल तथा रिसोर्टमा तडकभडक स्वागत तथा बिदाइ कार्यक्रम नगर्न कलेज तथा संस्थागत विद्यालयहरूलाई कडा निर्देशन दिएका छन्।

आज चितवनमा आयोजित संस्थागत विद्यालयका शिक्षकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सिडिओ अर्यालले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक भार पार्ने खालका गतिविधि अब सह्य नहुने बताएका हुन्।

उनले होटल तथा रिसोर्टमा डिजे र भड्किलो मनोरञ्जनसहित कार्यक्रम आयोजना गरी विद्यार्थीबाट चर्को शुल्क असुल्ने, सामाजिक तथा धार्मिक संस्कृतिविपरीत गतिविधि गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै तत्काल रोक्नुपर्ने बताए।

चितवनका अधिकांश कलेज तथा विशेषगरी संस्थागत विद्यालयहरूले विगतदेखि स्वागत तथा बिदाइ कार्यक्रमको नाममा विद्यार्थी र अभिभावकबाट ठूलो रकम उठाउँदै आएको गुनासो प्रशासनसम्म पुगेको उनले उल्लेख गरे। यस्ता गतिविधिले शिक्षा क्षेत्रलाई व्यापारमुखी बनाउनुका साथै अभिभावकमाथि अनावश्यक आर्थिक दबाब सिर्जना गरेको उनको भनाइ थियो।

सिडिओ अर्यालले विद्यालयहरूलाई शैक्षिक मर्यादा, अनुशासन तथा नेपाली सामाजिक–सांस्कृतिक मूल्य मान्यतालाई ध्यानमा राखेर कार्यक्रम सञ्चालन गर्न आग्रह गरेका छन्। निर्देशन उल्लंघन गरेको पाइए कानुनी कारबाही गरिने चेतावनीसमेत उनले दिए

प्रतिक्रिया दिनुहोस