महोत्तरी । जेठ सकिनै लाग्दासम्म धानको ब्याड राख्न नपाएका महोत्तरीका किसान यसपालि पनि समयमै खेती गर्न नपाइने चिन्तामा रहेका छन् । असार दोस्रो साता प्रारम्भ भएसँगै धान रोपाइँमा लाग्नुपर्ने किसानको तालिका अनुकूल वर्षा नहुँदा खेती प्रभावित हुने चिन्तामा परेको हो । असार तेस्रो साताभित्र धानको मूल रोपी सक्नुपर्ने भए पनि जेठ सकिनै लाग्दासम्म ब्याड नै राख्न नपाएपछि यसपालि समयमा खेती नहुने पक्का जस्तै भएको किसानको भनाइ छ ।
“जेठ तेस्रो साताभित्र ब्याड राखिसक्ने, असार तेस्रो साताभित्र शाही रोप (मूल रोप, बीउ रोप) सक्ने र साउन तेस्रो साताभित्र खरूअन (धानको कलम, बीउ रोप गाँजिएपछि त्यो उखालेर रोपिने) रोपाइँ सक्ने धानखेतीको तालिका हो,” भङ्गाहा–४ का ६० वर्षीय किसान मोहन खाँ थारू भन्नुहुन्छ, “जेठ सकिन लाग्यो, ब्याड नै राखिएको छैन, कसरी धान रोपाइँ तार लाग्ला खै ?” जेठ मध्यपछि राम्ररी माटो गालेर पानी नपर्दा र राम्रो बीउको जोहो नहुँदा अझै ब्याड राख्न नसकिएको थारूको चिन्ता छ ।
सामान्यतया कमसेकम ब्याडको बीउ १५ दिनको नभई रोप्न नसकिने र अहिलेसम्म ब्याड राख्ने तयारी नै गर्न नसकिँदा असारे १५ को धान दिवसमा यसपालि धान रोपाइँ गर्न पाइने छाँट नदेखिएको किसानको चिन्ता छ । धानको ब्याड खेत हिल्याएर राख्नु किसानको पहिलो रोजाइ हुन्छ । खेत हिल्याउने गरी पानी नहुँदा धुले ब्याड पनि राखिन्छ । तर, जेठ मध्ययता धुले ब्याड राख्न पनि चाहिने चिस्यान हुनेगरी पानी नपरेपछि किसानको धानखेतीको तालिका गजमजिएको हो । अनुकूल वर्षा नहुनु र राम्रो उमारको बीउ नपाउँदा किसान रनभुल्ल छन् ।
“हैन, यो समय नै के आयो, बुझ्न सकिएन । अघि बाबुबाजे त जेठ आधा बितेपछि अब पानी पर्छ भनेर खेत खनजोत गरेर धुल्याउँथे, त्यही समय मिलाएर पानी पथ्र्यो पनि । अनि आफैँले भण्डारण गरेको बीउ ब्याडमा छरिन्थ्यो,” पुराना कुरा सम्झँदै भङ्गाहा–४ कै ८० वर्षीय चौठी बाँतर विरक्तिँदै भन्नुहुन्छ, “अब त खेतीपातीका ती अड्कल कामै लाग्न छाडे । न त्यो समयमा अनुकूल पानी पर्छ, न घरमा राखिएको बीउ उम्रन्छ, खै के समय आयो ?” पहिलेपहिले जस्तो मौसमबारे गरिने अड्कलबाजी अचेल मेल खान छाडेको बाँतर बताउनुहुन्छ ।
अहिल धानखेतीका किसानलाई मुख्य पिरोलो बीउको छ । बीउ भेटिए पानी पर्नासाथ ब्याड राख्न पाइने किसान बताउँछन् । तर, हाट बजारमा किनिएको बीउ राम्रो उमारको नहुँदा विगतमा पाएको दुःख सम्झँदै बर्दिबास–७ मनहरिपुरका ७० वर्षीय किसान विन्देश्वर यादव भन्नुहुन्छ, “यी ठाउँठाउँका सरकारले ‘यहाँ बीउ किन, ठगिदैनौँ’ भन्दिए हुने, त्यो पनि पाइएन ।” बजारमा किनिएको बीउ राम्ररी नउम्रने, नगाँजिने र पोटिलो दाना नलाग्ने गरेको विगत अनुभवले यादवलाई अब के गर्ने भन्ने चिन्ताले पिरोलेको छ । हाटबजारका कृषि सामग्री बेचबिखन पसलमा किनिएको बीउमा धेरै पटक ठगिनु परेको किसानको गुनासो छ ।
यादव मात्र नभएर यहाँका अधिकांश किसान अहिले आफ्नै स्थानीय तहको कृषि शाखामा बीउ पाउने आसमा चाहार्दै छन् । तर धेरैजसो स्थानीय तहका कृषि शाखाले किसानलाई सुपथ मूल्यमा दिइने बीउको व्यवस्था नगर्दा किसान फेरि खुला बजारकै भर पर्नुपर्ने भएको छ । “पोहोर, परार त सस्तो महगो जेजस्तो भए पनि वडा कार्यालयबाट थोरतिन बीउ पाइएको थियो,” सो बस्तीकै अर्का किसान रितबहादुर पौडेल सम्झनुहुन्छ, “यसपालि बीउ वितरणको चियो चर्चा थाहा पाइएन ।”
जेठ तेस्रो साताभित्रै राखी सक्नुपर्ने ब्याड यसपालि वर्षा र बीउको चाँजो नमिल्दा किसान पछि परेका हुन् । अब समय निकै घर्किसक्दा धान रोप्नै नपाइने पो हो कि भन्ने चिन्ताले किसानको पिरोलो बढेको हो । राम्रो बीउ र पानीको अभावले मुख्य बाली मानिएको धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका छन् ।
यसपालि हिउँदे वर्षा राम्रो नपर्दा चैतीबाली राम्रो उत्पादन लिन नसकेका किसानको आश अब असारमा रोपिने धानमा टिकेको छ । यो जिल्लाकै मुख्यबाली समयमा लगाउन नपाइएपछि गुजाराको सङ्कट बढ्ने किसानको चिन्ता छ । “खै बीउ कहाँ जोहो गर्ने होला ?” गौशाला–४ रजखोरका ६० वर्षीय किसान रिझन साह बीउकै खोजमा भुट्भुटिनु भएको छ । यसपालि पहिले नै पानी नपर्दा बर्खे धान लगाउन नपाएका किसानलाई अब हिउँदे धानको मात्र आश छ । अब लगत्तै पानी परेर बीउ भेटिए जेठभित्र राखिएको ब्याडले पनि असारभरिमा रोपाइँ गर्न पाइने किसान बताउँछन् ।
पहिले स्थानीय जातका धान लगाउँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लगाउन थालेपछि बीउकै लागि बजारको मुख ताक्नु परेको किसान बताउँछन् । “हाँमीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौँ धानका जात हुन्थे,” भङ्गाहा–२ बखरीका किसान ६० वर्षीय जिबछ सिंह थारू भन्नुहुन्छ, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।”
पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा बीउ नपाएर सास्ती पाइने गरेको किसानको भोगाइ छ । त्यस्तै स्थानीय सरकारको प्राथमिकतामा कृषि नपर्दा दुःख पाइएको किसान गुनासो गर्छन् । “हामी त पैसा तिरेरै ल्याउँथ्यौँ, भरपर्दो ठाउँमा यहाँका हाम्रा प्रतिनिधिले बीउबिजन, खादमल व्यवस्था गरिदिए हुने, तर यो काम प्राथमिकतामा प्रतिनिधिले राखी दिएनन्,” भङ्गाहा–९ कर्पुरगञ्जका अगुवा किसान रामजुलुम सर्दार भन्नुहुन्छ । “कृषि नै प्राथमिकतामा नपरेपछि खै के समृद्धि हुने होला ?” स्थानीय प्रतिनिधिप्रति सर्दारको कटाक्ष छ ।
जिल्लामा कुल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यद्यपि कुल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर लाग्नेहुँदा अधिकांश खेती आकासे पानीकै भरमा छ । स्थायी कुलो, नहर १० प्रतिशतमा मात्र पुगेको हुँदा किसानले कहिल्यै सजिलै समयमा खेती लगाउन पाएका छैनन् । यो अवस्थाले बर्सेनिजसो अपेक्षित धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयका बालीविज्ञको स्वीकारोक्ति छ ।
“हो, समयमा पानी र बीउ नहुँदा/नपाउँदा किसान हैरान छन्,” कार्यालयका बाली विकास अधिकृत राजकिशोर यादव भन्नुहुन्छ, “मुख्य रूपमा अहिले किसानलाई बोरिङ, इनार र स्यालोट्युवबेलजस्ता वैकल्पिक सिँचाइमा प्रोत्साहित गरिँदैछ, यसले आकाश ताक्नुपर्ने अवस्थामा राहत दिनेछ ।” बीउका लागि स्थानीय तहका कृषि शाखाको पहलकदमी बढ्दा किसानले राहत पाउने यादव बताउनुहुन्छ ।
जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहितका १५ स्थानीयतहमध्ये धेरैजसो कृषि शाखा सञ्चालनबारे बेखबरझैँ रहेका किसानको गुनासो छ । जिल्लाका एकाध स्थानीयतहबाहेक किसानलाई समयसमयमा सल्लाह दिने, बालीनाली हेरिदिने, बीउविजनको प्रबन्ध गरीदिनेजस्ता काम हेर्नेगरी कृषि शाखा सञ्चालन हुन नसकेका अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य महोत्तरीकै भङ्गाहा–५ भूचक्रपुरका लक्ष्मण महतो बताउनुहुन्छ । “स्थानीयतहको प्राथमिकतामा बीउबिजन, सिँचाइ र समयमा मलखादको प्रबन्ध परेको देखिँदैन,” उहाँ भन्नुहुन्छ, “यो अवस्थाले किसान निराश छन् ।” कृषि सामग्रीको बजार व्यवस्थापन नगरिँदा र गुनासो सुनाउने ठाउँ नपाइँदा किसानको निराशा बढेको हो ।
यसैबीच जिल्लाको मटिहानी नगर कार्यपालिकाको कार्यालयले भने कृषि शाखा सक्रियतापूर्वक काममा रहेको जनाएको छ । “हामीले खेतीपातीको बेला बीउबिजन, मलखाद र अन्य प्रबन्धमा ध्यान दिँदै आएका छौँ,” प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा भन्नुहुन्छ, “यसैगरी फलपूmल रोपन, मखानखेतीको बजार व्यवस्थापन र गाईबाख्रा पालनमा सहयोग कार्यक्रम नियमित छन् ।” यद्यपि किसानलाई आवश्यक पर्ने जति समन्वय अझै गर्न नसकिएको शर्माको स्वीकारोक्ति छ ।
यसअघि (नयाँ संविधान लागू हुनअघि) का जिल्ला कृषि विकास कार्यालय छँदा उसको मातहत रहेका कृषि केन्द्र र उपकेन्द्रहरू अहिले सम्बन्धित स्थानीय तह मातहत भएका छन् । पहिलेका कृषि केन्द्र, उपकेन्द्रलाई समुचित समन्वय गरेर स्थानीय तहले कृषि शाखा सञ्चालनमा ल्याउन नसक्दा आवश्यक सेवा र परामर्श किसानले पाउन नसकेका कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त भङ्गाहा–६ हतिसर्वाका बासिन्दा जासर यादव बताउनुहुन्छ । “जिल्लास्थित कृषि ज्ञान केन्द्र प्रदेश सरकार मातहत छन्,” बालीविज्ञ यादव भन्नुहुन्छ, “पहिलेका केन्द्र र उपकेन्द्र चाहिँ स्थानीय तह मातहत । जिल्लास्थित कृषि ज्ञान केन्द्र र स्थानीय तहका निकायबीच समन्वयको राम्रो तारतम्य मिल्न सकेन ।”
सैद्धान्तिक रूपमा भएको व्यवस्थाभित्र स्थानीय तहले कृषि शाखा सञ्चालन गर्न नसक्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले कुनै काममा नदेखिएका आम गुनासो छ । यहाँका स्थानीयतह कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गर्छन् । “यो बिलकुल विषय दक्षतामा आधारित क्षेत्र रहेछ,” भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्नुहुन्छ, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन ।”
यता स्थानीय तहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आफूहरु स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आपूmहरूसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको गुनासो छ ।
चैतेबाली र वैशाखी तरकारी खेतीबाट अपेक्षित उत्पादन लिन नसक्दा अब गुजाराको एउटै सहारा देखिने धानबाली लगाउन सक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन् । यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश सरकार, स्थानीयतह र कृषिसम्बद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, २६ जेठ २०८२, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जुम्लामा खडेरीले खेतबारीमै सुक्न थाल्यो बाली