आज संघीय संसद अधिवेशन बैठक बस्दै, केके छन् कार्यसूची ?

सफल खबर संवाददाता

बुधबार, २३ भदौ २०७८, ०८ : ५५
आज संघीय संसद अधिवेशन बैठक बस्दै, केके छन् कार्यसूची ?

काठमाडौं । संघीय संसदको दुवै सदनको अधिवेशन आजदेखि शुरु हुँदैछ। अपराह्न ४ बजे बस्ने नवौँ अधिवेशनको पहिलो प्रतिनिधि सभा बैठकको कार्यसूची तय भएको छ।  मन्त्रिपरिषद्को भदौ १९ गतेको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। 

कार्यसूचीअनुसार सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र पढेर सुनाउनेछन्। प्रतिनिधि सभा पुनस्र्थापनासँगै गत साउन ३ बाट अधिवेशन प्रारम्भ भई साउन ३२ गते अन्त्य भएको थियो ।

बैठकमा गृह मन्त्री बालकृष्ण खाँणले राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधन) अध्यादेश प्रस्तुत गर्नेछन्। त्यस्तै अर्थ मन्त्री जनार्दन शर्माले ‘राष्ट्र ऋण उठाउने अध्यादेश २०७८’ संसदमा पेश गर्नेछन्।  संघीय संसदका महासचिव डा. भरतराज गौतमका अनुसार शपथसम्बन्धी अध्यादेश, रेल्वे अध्यादेश, औषधिसम्बन्धी अध्यादेश, सामाजिक सुरक्षा अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थलाई नियमन गर्नेसम्बन्धी अध्यादेश, नागरिकता अध्यादेश, यौन हिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक अध्यादेश, विनियोजन अध्यादेशलगायतको प्रक्रिया अघि बढाइने छ । पहिलो बैठकमा यसअघि पेस भएपनि स्वीकृतिको प्रक्रिया अघि बढाइएको थिएन। 

यस्तै कार्यसूची अनुसार सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षताका लागि सदस्यको मनोनयन पनि हुनेछ। बैठकमा २०७० का संविधान सभा सदस्य जुठबहादुर खड्गी (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव पारित गरिने छ।