कोरोना सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढे

रासस

बुधबार, १६ भदौ २०७८, २१ : ३१
कोरोना सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुने बढे

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितभन्दा आज सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढेको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या करिब एक हजारले बढेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार दुई हजार ५२ जना सङ्क्रमित भएका छन भने तीन हजार ३० जना सङ्क्रमणमुक्त भएका छन् । चौध हजार ९३५ जनामा परीक्षण गर्दा दुई हजार ५२ जनामा सङ्क्रमण देखिएको हो । हाल सक्रिय सङ्क्रमित ३४ हजार १८९ जना रहेका छन् ।

अहिलेसम्म सात लाख १९ हजार ३३६ जना सङ्क्रमणमुक्त भई घर फर्किएका छन् । यस्तै सङ्क्रमणमुक्त हुनेको दर पनि बढेको छ । आज नेपालमा सङ्क्रमणमुक्त हुने दर ९४.१ प्रतिशत पुगेको छ ।

यसभन्दाअघि ९३.९ प्रतिशत सङ्क्रमणमुक्त भएका थिए । यस्तै सङ्क्रमणबाट विगत २४ घण्टामा २० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ७७० जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति १० लाखमा ३६३ जनाको सङ्क्रमणका कारणले निधन हुने गरेको छ । 

हाल ५६३ जना सघन उपचार कक्ष, १७० जना भेन्टिलेटर, ३१ हजार ८१२ जना होमआइसोलेसन,  दुई हजार ३७७ जना संस्थागत आइसोलेसन र ३११ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा सङ्क्रमणको दर १९.५ प्रतिशत रहेको छ । 

प्रतिक्रिया दिनुहोस