काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

रासस

बुधबार, १६ भदौ २०७८, १३ : २९
काठमाडौँका आठ स्थानीय तहमा स्थानीय पाठ्यक्रम, तीनमा बाँकी

काठमाडौँं । काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये तीनले अझैसम्म स्थानीय पाठ्क्रम लागू गरेका छैनन् ।संविधानले नै आधारभूत तहमा एक विषयको पाठ्यक्रम लागू गर्ने जिम्मा स्थानीय तहलाई दिएको छ । त्यसमा कुन भाषा छनोट गर्ने, कुन विषयवस्तुलाई समावेश गर्ने, कहिलेबाट पठनपाठन सुरु गर्ने भन्ने सम्पूर्ण अधिकार स्थानीय तहलाई रहे पनि काठमाडौँ जिल्लाका नागार्जुन, टोखा र कीर्तिपुर नगरपालिकाले अझैसम्म लागू गर्न सकेका छैनन् । 

सुरु गर्न बाँकी रहेका दुई स्थानीय तहले यही शैक्षिक सत्रदेखि लागू गर्नेगरी व्यवस्था भइरहेको बताएका छन् भने कीर्तिपुर नगारपालिकाले कोरोना महामारी कम भएपछि सुरु गर्ने जनाएको छ । बाँकी अन्य आठ स्थानीय तहले पठनपाठन गराइरहेका छन् । अहिलेसम्म लागू गरेकामध्ये धेरैले नेपाली भाषा रोजेका छन् । 

काठमाडौँ महानगरपालिका र कीर्तिपुर नगरपालिकाले भने नेपाल भाषा छनोट गरेका छन् । त्यसमध्ये गोकर्णेश्वर नगरपालिकाले सबैभन्दा पहिले विगत तीन वर्षदेखि नै आफ्नो  पाठ्क्रम तयार गरी पठनपाठन गराइरहेका छन् । काठमाडौँ महानगरापलिका, चन्द्रागिरि, शङ्खरापुर, कीर्तिपुर, दक्षिणकाली, कागेश्वरी मनोहरा,  गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकामा हाल पठनपाठन भइरहेको छ ।  

नेपालको संविधानको भाग ३ को मौलिक हकअन्तर्गत धारा ३२ को उपधारा २ र ३० मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयमा स्थानीय पाठ्यक्रमका रूपमा आफैँले एक सय पूर्णाङ्कको एक विषय अध्ययन÷अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । 

कामपाले गत शैक्षिक सत्रदेखि नेपाल भाषामा अध्ययन गराउन सुरु गरेको हो । काठमाडौँका अन्य स्थानीय तहले पुरानै शिक्षकबाट स्थानीय विषयलाई अगाडि बढाइरहँदा कामपाले आफ्नै साधन र स्रोतमा शिक्षकको दरबन्दी सृजना गरी विद्यालयमा पठाएको  छ । 

केन्द्रबाट तय हुने पाठ्यक्रमले स्थानीय संस्कृति, जनजीवन, भूगोललगायत पक्षलाई समेट्न सक्दैन भन्ने मान्यताका आधारमा स्थानीय पाठ्यक्रमको अवधारणा आएको हो । 

अधिकांशको पहिचान मठमन्दिर र धर्म संस्कृति पढाउन सुरु गरिसकेका र तयारीमा रहेका सबै स्थानीय तहका पाठ्यक्रमको मुख्य विषयवस्तु आफ्नो क्षेत्रको धर्म संस्कृति, भाषा, रहनसहन, पर्यटकको आकर्षक केन्द्र ऐतिहासिक सम्पदा र उद्यान रहेको छ । आ–आफ्नो स्थानीय तहमा रहेको ऐतिहासिक सम्पदाको पहिचान गराई तिनको संरक्षणमा सन्ततिलाई जिम्मेवार बनाउने उद्देश्यका साथ पाठ्यक्रम लागू गरिएको शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले जानकारी गराए । 

चन्द्रागिरि नगरपालिकामा निजी र सामुदायिक गरी ८० विद्यालय छन् । ती सबै विद्यालयमा  अहिले चन्दागिरिको पहिचान झल्कने ‘हाम्रो चन्दागिरि’ नामको पुस्तक पठनपाठन भइरहेको नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी गराए । 

    

प्रतिक्रिया दिनुहोस