प्रतिकूल मौसमले उडान प्रभावित

रासस

आइतबार, १३ भदौ २०७८, २१ : ४३
प्रतिकूल मौसमले उडान प्रभावित

काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विभिन्न गन्तव्यमा हुने उडान सामान्य प्रभावित भएको छ ।

मौसम बदलीसँगै दिनभर निरन्तरको वर्षाले विशेषगरी पोखरा गन्तव्यको उडान बढी प्रभावित भएको छ । यो गन्तव्यमा भिजिबिलिटीका कारण केही उडानहरू रद्द गर्नु परेको एयरलाइन्सले जनाएका छन् । बुद्ध एयरको पोखरा गन्तव्यका कतिपय उडान रद्द गरिएको छ । 

यस्तै विराटनगर र भरतपुर विमानस्थलमा पनि भिजिबिलिटीका कारण उडानहरू केही विलम्ब भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले जानकारी दिए । देशभर बदली र निरन्तर वर्षाले आन्तरिक उडान समान्य प्रभावित भएको होे ।

नेपालमा मनसुनी वायुको प्रभावले राजधानी काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भएको छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली रहनाका साथै केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुद्ध एयरको कार्गो विस्तार
 बुद्ध एयरले कार्गो सेवा विस्तार गरी सेवालाई स्तरीय बनाउने भएको छ । शुरुआतदेखि नै कार्गो सेवा प्रदान गरिरहेको कम्पनीले यसलाई थप विस्तारका लागि उपायडटकमसँग सम्झौता गरेको हो । जसअनुसार सुरुआतमा काठमाडौँ, भैरहवा, पोखरा सहरहरूमा घरबाटै कार्गो बुझिलिने र डेलिभरी सेवा दिनेछ । 

कार्गो सेवा सुरक्षितका साथै सङ्क्रमणरहित हुने बुद्ध एयरले प्रेस विज्ञप्तिमा जनाएको छ । यो सेवा उपायडटकमको मोबाइल एपमा उपलब्ध छ । मोबाइल एपबाट सजिलै कार्गो सङ्कलनका लागि बोलाउन सकिन्छ । यसमा के कति चार्ज लाग्ने हो अग्रिम नै जानकारी गराउनुपर्ने कम्पनीले जनाएको छ ।