पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र, ५ सय ३४ रोपनी जग्गाको हुन सकेन् संरक्षण

पत्रपत्रिकाबाट

आइतबार, १३ भदौ २०७८, ०८ : १०
पशुपतिनाथको जग्गा अतिक्रमण तीव्र, ५ सय ३४ रोपनी जग्गाको हुन सकेन् संरक्षण

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषका नाममा कागेश्वरी मनोहरा नगरपालिका– ८ मा रहेको ५३४ रोपनी जग्गाको संरक्षण हुन सकेको छैन ।  जग्गा संरक्षण नहुँदा सुकुम्बासीका नाममा वरिपरिबाट मिच्ने क्रम तीव्र बनेको छ । बालुवा खानीका कारण पटकपटक विवादमा आएको यो जग्गा कोषले संरक्षण नगर्दा वरिपरिबाट मिच्ने क्रम रोकिएको छैन ।

बस्तीका बीचमा धेरै जग्गा खाली भएपछि सुकुम्बासीका नाममा मिच्नेक्रम बढेको हो । यस वर्ष पनि सुकुम्बासीका नाममा करिब १० टहरा थप्न खोजिएको थियो । कोरोनाबाट बच्न सरकारले निषेधाज्ञा जारी गरेका बेला सुकुम्बासीका नाममा जग्गा हडप्न खोजेपछि कोषले हटाएको थियो ।    
    
 कोषको जग्गासँगै जोडिएको द सेलिब्रेसन कोएडका प्रधानाध्यापक महेन्द्र भट्टराईले एक महिनाअघि केही मानिस सुकुम्बासीका नाममा कोषको जग्गासँगै जोडिएको विद्यालयको जग्गा हडप्न आएको बताए । कोषको जग्गा भने पटकपटक मिचिने गरेको देखिएको उनले सुनाए । कोषको जग्गाका बीचमा खहरे बग्ने गरेको छ । वर्षाद्मा खहरे बढेर आउँदा वरिपरिको बस्तीमा समस्या हुन्छ । कोषले जग्गा व्यवस्थापन नगर्दा यस वरपरका स्थानीयवासीलाई समेत समस्या हुने गरेको छ ।    

कोषका उपनिर्देशक गौरीशङ्कर पराजुलीले विसं २०७६ चैत ११ गतेअघि नै कोषले गोठाटारको जग्गामा सुकुम्बासीका नाममा बसोबास गर्नेलाई हटाउन सार्वजनिक सूचना प्रकाशन गरेको बताए । सूचनामा दिइएको समयमा अतिक्रमण गरी बसेका नहटेपछि स्थलगतरुपमै कोषले माइकिङ गरेर छोडेर जान भनेको थियो । कोरोना भाइरस सङ्क्रमणको जोखिम भएकाले मानवीय संवेदनालाई ध्यानमा राखेर हट्नलाई समय दिएको डेढ वर्ष भए पनि अतिक्रमणकारीले नछोडेको उपनिर्देशक पराजुलीले बताए । गोरखापत्र दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस