डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्दै चीन

एजेन्सी

मंगलबार, ०८ भदौ २०७८, १२ : ५६
डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्दै चीन

चीन । ‘जिरो कोभिड एप्रोच’ लाई थप कडाइका साथ लागु गरेको चीनमा सोमबार शून्य स्थानीय सङ्क्रमण भेटिएको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) ले जनाएको छ । गत जुलाई यता देशमा स्थानीय सङ्क्रमण फेला नपरेको यो पहिलो अवसर हो ।

गत जुलाई २० यता निकै सङ्क्रामक मानिएको कोरोना भाइरसको डेल्टा भेरियन्टको सङ्क्रमणबाट चीन ग्रस्त बनेको थियो । पूर्वी सहर नान्जिङमा विमानस्थलका सफाइ कर्मचारीमा पहिलोपटक यो भेरियन्ट पुष्टि भएको थियो ।

त्यसपछि चीनमा सन् २०२० यताकै खराब सङ्क्रमणको अवस्था देखिएको थियो । देशका ३१ प्रान्तमा १२ सयभन्दा बढीमा सङ्क्रमित फेला परेका थिए । यसमा मुख्य खतरा डेल्टा भेरियन्ट देखिएको थियो जसले चीनको ‘जिरो टोलरेन्स’ भाइरस नीतिलाई नै चुनौती दिएको थियो ।

स्थानीय अधिकारीहरूले लाखौँ जनतालाई कडा लकडाउनमा राख्नुका साथै ठूलो स्तरमा परीक्षण र ट्रेसिङ अभियान सुरु गरेको थियो । स्थानीय यात्रामा प्रतिबन्ध लगाइएको थियो ।

यसले कोरोना नियन्त्रणमा सहयोग गरेको थियो । पछिल्लो हप्ता एकल अङ्कमा नयाँ स्थानीय सङ्क्रमण देखिएकोमा सोमबार बाहिरबाट आएका २१ जनामा देखियो भने स्थानीय सङ्क्रमण शून्य रहेको थियो । त्यस्तै, बाहिरबाट आएका १६ जना लक्षणबिनाका सङ्क्रमित फेला परेका थिए ।

यदि यो ट्रेन्ड जारी रह्यो भने चीन ठूलो मात्राको डेल्टा भेरियन्टको सङ्क्रमण नियन्त्रण गर्ने पहिलो देश बन्ने सीएनएनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस