भरतपुर अस्पताल रेडियोलोजी विभाग : जिम्मेवार छैनन् चिकित्सक

रासस

मंगलबार, ०८ भदौ २०७८, १२ : ०४
भरतपुर अस्पताल रेडियोलोजी विभाग : जिम्मेवार छैनन् चिकित्सक

चितवन । भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ । दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो ।  अत्यावश्यक उपचारका लागि सो सेवा आवश्यक पर्छ ।

अस्पतालको ‘सिटिस्क्यान’ र ‘भिडियो एक्सरे’सँग सम्बन्धितलाई रेडियोलोजी विभागले हेर्दै आएको छ । एक्सरेलगायतका अन्य सेवा फरक विभागबाट हेरिँदै आएको छ । दुर्घटनाका घाइते, प्रसूति, एपेन्डिक्स जस्ता अत्यावश्यक सेवाका रेडियोलोजी विभागमा बिरामी पुग्ने गर्दछन् । रातका समयमा टिकट काटेर सेवा नपाएर छट्पपिइरहेका बिरामी देख्दा दिक्क लाग्ने गरेको टिकट काउन्टरमा बस्ने बताउँछन् ।

पटकपटक फोन गर्दासमेत चिकित्सक र प्राविधिक समयमा नआउने र उल्टै गाली गलौज गर्ने गरेको काउन्टरमा रहेका एक कर्मचारीले एक वर्ष अघिदेखि नै गुनासो गर्दै आएका छन् । 

अस्पतालको रेडियोलोजी विभागमा २४ घण्टा चिकित्सक र प्राविधिकलाई जिम्मेवारी तोकिएको छ । अस्पतालको आकस्मिक कक्ष नजिक रहेको कोठा नम्बर १५ मा सोमबार साँझ ९।१० बजेका समयमा एक महिला भिडियो एक्सरेमा चिकित्सक आउने बाटो हेर्दै थिइन् । नवलपरासीको सर्दिबाट आकस्मिक उपचारका लागि आएकी ३२ वर्षीया रुपा (नाम परिवर्तन) साँझ ८ बजेदेखि अस्पतालमा चिकित्सकको पर्खाइमा थिइन् ।

गर्भवती समयमा स्वास्थ्यमा समस्या आएर अस्पतालमा उपचारका लागि आएकी उनीले अस्पतालको काउन्टरमा रेडियोलोजी विभागमा ‘चिकित्सक कतिखेर आउनुहुन्छ भन्दै सोधी’ राखेको देख्न सकिन्थ्यो । अस्पतालका कर्मचारी भने ‘चिकित्सक आउने समय थाहा नभए पनि फोन गरेको छु आउनुहुन्छ’ भन्दै थिए । बिरामी भएर उपचारका लागि अस्पताल आएकी उनलाई अस्पतालको रेडियोलोजी विभागमा गएर बस्न भनिएको थियो । चिकित्सक कतिखेर आउने भन्ने अन्यौल थियो ।

सोही क्रममा काउण्टरमा रहेका कर्मचारीले भने “रातिमा भिडियो एक्सरेको टिकट नकाटे पनि हुने हो । चिकित्सक कतिखेर आउनुहुन्छ थाहा हुँदैन । यहाँ बिरामी अन्तिम समयमा पुग्ने बेला भैसकेको हुन्छ ।”  उक्त समयमा क–कसको ‘ड्यिुटी’ हो भन्ने  जिज्ञासमा भने ती कर्मचारीले खुलाउन चाहेनन् । रुपा एउटी प्रतिनिधि पात्रै मात्रै हुन् । अस्पतालमा रातका समयमा आउने सबैको समस्या उनको जस्तै छ । 

अस्पतालको सो विभागमा आठ चिकित्सक, एघार प्राविधिक कार्यरत छन् । उनलाई सिफ्टमा कामको जिम्मेवारी दिइएको छ । रातका समयमा ड्यिुटी पर्ने चिकित्सक आफ्नो कार्यक्षेत्रमा नबस्दा यहाँ आएका बिरामी बाहिर गएर उपचार गाउन बाध्य हुने गरेका छन् । कतिपय समयमा फोन गरेर बोलाए पनि चिकित्सक नआइ प्राविधिकलाई जिम्मा लगाउने गरेको र ‘भिडियो एक्सरे नै हुँदैन’जनाउँदै पठाउने गरेको गुनासो सेवाग्राहीको छ ।

अस्पतालको रेडियोलोजी विभागका प्रमुख डा केशव पौडेल २४ घण्टाका लागि पालो मिलाएर चिकित्सक र प्राविधिक रहने गरेको जानकारी दिएका छन् । आफ्नो पालो परेका समयमा चिकित्सक बस्नुपर्ने उनको भनाइ छ ।  

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपाने यसलाई व्यवस्थापन गर्ने तयारी गरिएको बताउछन् । अस्पतालमा गएको दुई वर्षमा ६ मेडिकल सुपरिटेण्डेण्ट परिवर्तन भएकाले अस्पताल अस्तव्यस्त बनेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले अस्पताल भ्रमण गर्ने भनिए पनि एकसाता अघिदेखि काठमाडौँ रहेका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. न्यौपाने अस्पताल आएको भए पनि मन्त्री फर्किनु अघि नै उनीसमेत फर्किसकेका छन् । अस्पतालका एक कर्मचारीले भने “अस्पताल मियो बिनाको दाइँ जस्तो भयो ।”

अस्पतालमै कार्यरत डा भोजराज अधिकारीलाई विकास समितिको अध्यक्ष बनाएपछि फेरिरहेका मेडिकल सुपरिटेण्डेण्टका कारण अस्पतालमा काम हुनसकेको छैन । स्थिर प्रशासक नहुँदा समस्या भएको उनी बताउँछन्। यो विभाग मात्रै होइन, अधिकांश विभाग अस्तव्यस्त अवस्थामा चलेको छ । सङ्घीय अस्पताल बनेको अस्पतालमा स्थायी मेडिकल सुपरिटेण्डेण्ट नभएसम्म गतिलिन नसक्ने त्यही कार्यरत चिकित्सक बताउँछन् । यो अस्पताल काठमाडौँको प्रसूतिगृहपछि सबैभन्दा धेरै प्रसूति सेवा दिन अस्पतालमा पर्दछ । 

यसो त सडक सञ्जालले घेरिएकाले धेरै दुर्घटनाका बिरामी यहाँ आउने गर्दछन् । अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीको निजी अस्पताल र बाहिर जागिर हुनाले उनीहरुको ध्यान सरकारीमा भन्दा निजीमा बढी हुने गरेको छ ।