एमालेले गर्यो लुम्बिनी प्रदेश सभा बैठक अवरोध

सफल खबर संवाददाता

बुधबार, ०२ भदौ २०७८, १४ : ३१
एमालेले गर्यो लुम्बिनी प्रदेश सभा बैठक अवरोध

file-photo

बुटवल । लुम्बिनी प्रदेश सभा वैठकमा नाराबाजी गर्दै प्रमुख विपक्षी दल एमालेले अवरुद्ध गरेको छ ।

प्रदेश सभा बैठक शुरु भएलगत्तै एमाले सांसद हरि रिजालले सांसद अजय शाही र विमला वलीलाई पदमुक्त नगरेसम्म वैठक चल्न नदिने बताएलगत्तै एमाले सांसदहरु उठेर रोष्टम नजिक पुगेर नाराबाजी गरे ।

सभामुख पूर्णबहादुर घर्तीले प्रक्रिया अनुसार निर्णय गरिने बताएका छन् । बैठकमा मुख्यमन्त्री कुलप्रसाद केसीले विशेष सम्बोधन गर्ने कार्यसूचि छ । यस्तै उद्योग, वन तथा वातावरण मन्त्री समेत रहेका मुख्यमन्त्री केसीबाट प्रदेशको नाम सुधार तथा केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको विधेयक र वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने कार्यसूचि छ ।

यस्तै आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले यसअघिको सरकारले अध्यादेशबाट ल्याएको विनियोजन विधेयक वजेट  फिर्ता गर्न टेबल गर्ने र सभामुखले निर्णयार्थ पेश गर्ने कार्यसूचि छ ।

यस्तै प्रदेश मामिला तथा कानून समितिका सभापति दामा कुमारी शर्माबाट प्रदेश पदक ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले अवरोध गरेपछि स्थगित लुम्बिनी प्रदेश सभा वैठक सुचारु गर्ने विषयमा छलफल गर्न सत्ता पक्ष र विपक्षी दलबीच छलफल भएपनि सहमति जुटेको थिएन ।

प्रमुख सचेतक ढकालले सांसद अजय शाही र विमला खत्री वलीलाई सभामुखले पदमुक्त नगरेसम्म प्रदेश सभा वैठक चल्न नदिइने बताए ।नेकपा विभाजनपछि गत बैसाख १९ गते माओवादी केन्द्र रोजेकी विमला एमाले नेता उत्तर कुमार वलीको निधनपछि २०७६ सालमा तत्कालीन नेकपाको तर्फबाट दाङको निर्वाचन क्षेत्र नं ३ ख बाट निर्वाचित भएकी थिइन् ।

वलीलाई पार्टीमा ल्याउन एमालेले निकै कसरत गरेपनि सफल भएको थिएन । वलीलाई साउन १५ देखि २० गतेसम्म मुख्यमन्त्रीको सरकारी निवासमा वन्धक बनाएर राखेको आरोप समेत लागेको थियो । शाहीले आफूलाई स्वतन्त्र सांसद भएकोले नेकपा एमालेको ह्वीप नलाग्ने दावी गर्दै आएका छन् ।

नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्दिन खानले सत्ताबाट विपक्षमा जाने वित्तिकै एमालेले अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको बताए ।

प्रतिक्रिया दिनुहोस