यस अध्यादेशले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ : गोकर्ण विष्ट

सफल खबर संवाददाता

मंगलबार, ०१ भदौ २०७८, १४ : ५१
यस अध्यादेशले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ : गोकर्ण विष्ट

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका नेता गोकर्ण विष्टले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थिरता निम्त्याउन खोजेको बताएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलबार दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने निर्णयपछि माधव नेपाल समुहका भनेर चिनिएका नेता विष्टले सरकारको निर्णय खेदजनक भन्दै यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्ने बताएका छन् । उनी पछिल्लो समय नेकपा एमाले विवाद मिलाउन गठित कार्यदलमा समेत रहेका थिए ।

‘राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरूप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ’, विष्टको भनाइ छ । उनले सरकारको उक्त निर्णयलाई प्रतिगामी भन्दै सवैले विरोध गरेर फिर्ता लिन बाध्य पार्न अपील समेत गरेका छन् ।

विष्टले यस्तो लेखेका छन्ः

लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरविरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा विभाजनलाई प्रोत्साहित गर्नेछ ।

राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरूप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुःखद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।

प्रतिक्रिया दिनुहोस