निजी स्वामित्वको जमिन हुँदासम्म सुकुम्बासी समस्या समाधान हुँदैन : वामदेव गौतम

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, १३ : ४९
निजी स्वामित्वको जमिन हुँदासम्म सुकुम्बासी समस्या समाधान हुँदैन : वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले भूमि सम्बन्धी समस्या समाधान गर्न सबै निजी जमिन सरकारी स्वामित्वमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै गौतमले निजी स्वामित्वको जमिन हुँदासम्म सुकुम्बासी र भूमि सम्बन्धी समस्या समाधान नहुने बताए।

‘जमिनमाथि व्यक्तिगत स्वामित्व भएसम्म यो समस्या समधान हुँदैन्,’ उनले भने, ‘सरकारले सबै जमिन चलनचल्तीको मुल्य दिएर किनोस् । हामीले पहिले नै गल्ती गर्‍यौं र त्यो व्यक्तिगत स्वामित्वमा गयो । अब फेरि सबै सरकारको स्वामित्व ल्याउने काम गरौं । अब यो गलत बाटोमा जानुहुँदैन ।’

नेपालमा कुल २६ लाख हेक्टर जमिन भएको र २० लाख सुकुम्बासी भएको भन्दै गौतमले जमिन बाँडेर यो समस्या समाधान नहुने दावी गरे । ‘हामीले संविधान अनुसार गर्न सकेनौं,’ उनले भने, ‘हामीले जमिन नै दिने गर्‍यौं भने पनि हामीसँग त्यति जमिन छँदा पनि छैन । २० लाख भूमिहीनलाई दिने जग्गा नै छैन ।’

भूमि आयोगले विघटन गर्दा आन्दोलनको कुरा चलेको र फेरि गठन गर्ने कुरा उठेको भन्दै गौतमले त्यसबाट समस्या नै समाधान नहुने जिकिर गरे ।

‘झण्डै २८ वर्षको अवधिमा हामीले समस्या समाधान गर्छौं भनेका आयोगले किन गर्न सकेनन् ?,’ उनको भनाइ छ, ‘यो बाटो नै गलत छ ।’

प्रतिक्रिया दिनुहोस