काठमाडौंका स्थानीयवासीले गरे वडाका ३ वटा स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न माग

सफल खबर संवाददाता

शनिबार, २३ साउन २०७८, १४ : २१
काठमाडौंका स्थानीयवासीले गरे वडाका ३ वटा स्थानमा भेरोसेल खोपको व्यवस्था गर्न माग

काठमाडौं । काठमाडौंका स्थानीयवासीले वडाका ३ वटा स्थानमा भेरोसेल खोपको दोस्रो डोजको व्यवस्था गर्न सरकारसँग माग गरेका छन । 

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित रत्नराज्य माध्यामिक विद्यालयमा दोस्रो चरणको भेरोसेल खोप लगाउन पुगेका स्थानीयहरुले खोप लगाउन धेरैको बाँकि रहेको उल्लेख गर्दै हरेक वडाको ३ वटा स्थानमा खोप दिने व्यवस्था गर्न सरकारसँग माग गरेका हुन ।

हिजो (शुक्रबार)बाट सुरु भएको खोप काठमाडांै महानगरपालिका ३२ वटै वडाको १÷१ स्थानबाट दिने व्यवस्था गरिएको छ । तर दोस्रो चरणको भेरोसेल खोप लगाउन नपाएकाहरु धेरै भएकाले वडामा ३ वटा स्थान तोकि सबैले खोप लगाउन पाउने व्यवस्था सरकारले गर्नुपर्ने स्थानीय ताराबहादुर खड्काले माग गरे । उनले भने, ‘धेरै बाँकि छन्–भेरोसेल खोपको दोस्रो डोज लगाउनेहरु । एउटा वडामा ३ वटा ठाउँ तोकि सबैले खोप लगाउने पाउने व्यवस्था सरकारले गरिदिए अझै राम्रो हुने थियो । खोप सहज ढंगले लगाउन पाएकोमा सरकारलाई धन्यवाद ।’

यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरुले राम्रो व्यवस्था गरेको बताए । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको  उनको दावी थियो । वडाध्यक्ष केसीले भने, ‘राम्रोसँग दोस्रो डोजको खोप लगाउने व्यवस्था गरिएको छ । ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अशक्त महिलाहरुका लागि लाईन नबसी खोप लगाउने व्यवस्था गरिएको छ ।’

काठमाडौं महानगरपालिकाले भोली (आईतबार) सम्म यो खोप लगाउने व्यवस्था गरेको छ । तोकिएका सबै खोप केन्द्रहरुका बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खोप लगाउने व्यवस्था गरिएको पनि वडाध्यक्ष केसीले बताए । 

प्रतिक्रिया दिनुहोस