लुम्बिनीमा सांसद विमलालाई बन्धक बनाउनेलाई कठघरामा उभ्याउन गठबन्धनको माग

सफल खबर संवाददाता

विहीबार, २१ साउन २०७८, १५ : २५
लुम्बिनीमा सांसद विमलालाई बन्धक बनाउनेलाई कठघरामा उभ्याउन गठबन्धनको माग

रूपन्देही । आफूलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएको सांसद विमला वलीले सार्वजनिक गरेपछि लुम्बिनी प्रदेशका विपक्षी दलहरूले निन्दा गरेका छन् ।वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा ल्याएर ५ दिनसम्म बन्धक बनाएर राखेको भन्दै गठबन्धनले विज्ञप्ति निकालेर कानूनी उपचारको माग गरेको छ ।

कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खान, माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगर, जसपाका उपनेता सुमन शर्मा रायमाझी र राष्ट्रिय जनमोर्चाका तारा जिसीले विज्ञप्ति निकालेर सरकारकै नेतृत्वले अपहरणजस्ता घटनामा संलग्न हुनुले लोकतन्त्र नै धरापमा पर्ने खतरा रहेको भनेका छन्।

‘अविश्वासको प्रस्तावको सामना नगर्ने, बजेट पेस नै नगर्ने, संसद बहिष्कार गर्ने अन्य पार्टी तोडफोड गर्ने जस्ता घटना त गरी नै रहेका छन्, अब पछिल्लो चरणमा केन्द्रीय संसदमा जस्तै यहाँपनि मुख्यमन्त्री स्वयम् सांसद अपहरण, धम्की र किनबेचको आपराधिक तरिका अपनाउँदै सांसदलाई शरीर बन्धक अपहरणमा संलग्‍न हुँदै गइरहेको त होइन भनी गम्भीर आशंका जन्माएको छ’, विज्ञप्तिमा भनिएको छ।

गठबन्धनले घटनामा संलग्नलाई तत्काल कानूनी कठघरामा उपस्थित गराउन मागसमेत गरेको छ ।विज्ञप्तिमा भनिएको छ, ‘लुम्बिनी प्रदेश सरकारलाई यस्ता अपराधिक घटनामा प्रत्यक्ष संलग्न अपराधीलाई तत्काल कानूनको कठघरामा उपस्थित गराउन माग गर्दै अपराधको बलमा सरकारमा टिकिरहने दुस्वप्न नदेख्न चेतावनी दिन चाहन्छौं ।’

प्रतिक्रिया दिनुहोस