देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भयो : ओली

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १७ : ३६
देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भयो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिएका छन् । उनले सरकारले दादागिरी देखाउन थालेको पनि आरोप लगाए ।

आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृतिका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखिनै प्रतिगामीहरुको दादागिरी सुरु भएको बताए । ‘दमन गर्ने काम भैसक्यो, खाना खान नदिएर रोक्ने काम भैसक्यो । भद्दा राजनीतिकरण सुरु भैसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो । हामी यस्ता सवै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौ ।’

उनले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको बताए ।‘हाम्रा पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने यो स्थिति आएको हो’, ओलीको भनाइ छ ।त्यसक्रममा उनले केही स्वार्थी लोभिपापीहरुका कारण नेकपा फुटाइएको पनि बताए ।

ओलीले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाए । उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दावी पनि गरे ।

‘कम्युनिस्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ’, उनले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरु भएका छन् ।’ओलीले तुलसीलालका खास अनुयायी आफूहरु भएको दावी पनि गरे ।

‘आन्दोलन र अथक संघर्षको पर्याय हुन् तुलसीलालहरु । उहाँहरुले सिर्जना गरेको आन्दोलनका उत्तराधिकारी हामी यो आन्दोलनलाई कमजोर बनाउन दिँदैनौ’, ओलीले भने, ‘तर आन्दोलनलाई कमजोर बनाउन खोज्ने, अग्रगमन र परिवर्तनका विरुद्ध लागिरहेका हुन्छन् ।’

उनले ऋषिमुनिका कालखण्डमा यज्ञ र ध्यान पनि भत्काउने तथा बिगार्ने षड्यन्त्र हुने गरेको भन्दै अहिले पनि एमालेमाथि त्यस्तै षड्यन्त्र भइरहेको बताए ।  उनले विगतमा पनि नेपाली राजनीतिमा सालिक भत्काउनेदेखि पुस्तक डढाउने काम भएको उल्लेख गर्दै ती सवै उन्मादबाट भएको बताए ।ओलीले पुष्पलालले स्थापना गरेको र मनमोहन मदन भण्डारीले अघि बढाएको पार्टी एमालेले कम्युनिस्टहरूले विकास गर्न सक्छन् भन्ने पुष्टि गरेको पनि बताए ।