माधवजी अहिले बडो अप्ठेरो अवस्थामा हुनुहुन्छ : प्रचण्ड

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, १४ : ४६
माधवजी अहिले बडो अप्ठेरो अवस्थामा हुनुहुन्छ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल राजनीतिक र कानूनीरूपमा अप्ठेरो अवस्थामा रहेको भन्दै सत्ता गठबन्धनले सघाउनुपर्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको माओवादी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले माधव नेपाल अप्ठेरो अवस्थामा रहेको बताएका हुन् । बैठकअघि प्रचण्ड माधव नेपाललाई भेटेर गएका थिए ।

प्रचण्डको भनाइ उदृत गर्दै एक स्थायी कमिटी सदस्यले भने, ‘माधवजी अहिले बडो अप्ठेरो अवस्थामा हुनुहुन्छ । तत्कालै सरकारमा सहभागी हुने अवस्था पनि देखिएन । पार्टीमा पनि उहाँले चाहे जस्तो (बराबर हैसियतको अध्यक्ष) हुने अवस्था बनेको छैन । सायद आज उहाँको पक्षको बैठकले केही निर्णय गर्ला ।’

माधव नेपालसँग दैनिकजसो भेटिरहेका प्रचण्डले नेपालको अप्ठेरो सुनाउँदै दोस्रो तहका भनिएका केही नेताले धोखा दिएको बताएका थिए । उनले तल्लो पंक्ति माधवको साथमा रहे पनि माथिल्लो तहका केही नेताले केपी ओलीसँग सरेन्डर गर्न खोजेको ब्रिफिङ बैठकमा गरेका छन् ।

माधव नेपाल पक्ष सरकारमा सहभागी होस् भन्ने प्रचण्डको चाहना छ । उनले बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवा भने माधव पक्ष सरकारमा नआए पनि अब मन्त्रिपरिषद् विस्तार गर्ने र माधव नेपालसँग गठबन्धनको राजनीतिक सम्बन्ध कायम राख्ने पक्षमा रहेको बताएका छन् ।

आफ्ना नियमित भेटघाटमा प्रचण्डले माधव नेपाललाई केपी ओलीले जहिले पनि धोखा दिने भन्दै आफ्नो हात माथि नपारी एमाले एकता नगर्न सुझाव दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस