एमाले एकता ‘हात लाग्यो शून्य’जस्तो !

सफल खबर संवाददाता

आइतबार, १७ साउन २०७८, ११ : २३
एमाले एकता ‘हात लाग्यो शून्य’जस्तो !

काठमाडौँ । नेकपा एमाले विवाद कायमै छ । माधव नेपाल समूह र केपी ओली समूह दुबैले आफ्नो अडान नछोड्दा पार्टी एकता हात लाग्यो शून्य’जस्तो ! भएको छ । नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो ३ बजे बस्दैछ । तुलसीलाल अमात्य प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा एमाले केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नवीकरण र वितरण छलफलका एजेण्डा तय गरिएका छन् ।

यिनै विषयमा छलफल गर्न शनिबार बोलाएको स्थायी समिति बैठक विघटित कार्यदलका सदस्यहरूको आग्रहमा आइतबारसम्म स्थगित गरिएको थियो । विघटित कार्यदलका सदस्यहरूको शनिबार बिहान बसेको बैठकले स्थायी समिति बैठक स्थगित गरेर सहमति जुटाउन प्रयास गरेको थियो ।

सोही अनुसार माधव नेपाल पक्षका नेताहरू भीम रावल र सुरेन्द्र पाण्डे निरन्तर लागिरहेका छन, तर पार्टी एकता हुन नसक्ने संकेतहरु बढी देखिएका छन् । पाण्ड र रावलले वरिष्ठ नेता नेपाल र त्यसपछि केपी शर्मा ओलीसँग भेटवार्ता गरिरहेका छन्, तर दुबै नेताले आफ्नो अडान नछोड्दा पार्टी एकतामा पूर्णविराम लाग्न सकेको छैन, पूर्णविराम नलाग्ने सम्भावना बढी देखिएको छ । 

ओली समूहले माधव नेपाललाई आजसम्म पर्खिने समय दिएको छ, तर माधव नेपाल ओली सरहको हैसियत नपाए एकता नहुने बताइरहेका छन् । यसकारण अब एमाले पार्टी एकता नहुने संकेत बढ्दै गएको छ । 
रावल र पाण्डेसँगको भेटमा अध्यक्ष ओली र नेपाल दुवैले आफूले अघि सार्दै आएका अडान नछोड्ने बताएका थिए । नेता नेपालले ओलीसँग समान हैसियतमा मात्रै एकता हुने अडान अघि सार्दै आएका छन् भने ओली दोस्रो दिन तयार भए पनि समान हैसियत दिन तयार छैनन् ।
ओली पक्षका एक नेताले माधव नेपालले मागहरु थप्दै गइरहेका कारण एकता टर्दै गएको बताएका छन् । ती नेताले भने, ‘एक पछि अर्को माग थप्दै जाने काम भएको छ, पहिला जेठ २ भनियो, अनि दोस्रो अध्यक्ष भनियो, अहिले त ओलीभन्दा पनि माथि अधिकार चाहिन्छ भन्न थालियो । यसरी पनि एकता हुन्छ ?

ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले पार्टी एकताका लागि शनिबारको स्थायी समिति बैठक आजसम्मलाई स्थगित गरिएको जानकारी दिए । ‘आम नेता कार्यकर्ताको चाहाना पार्टी एकताकै पक्षमा छ । त्यही भएर हामीले पहल र प्रयास गरेका हौ’, नेता नेम्वाङले भने, हुँदै नहुने भएपछि त अघि बढ्नुको विकल्प पनि रहँदैन ।’

नेताहरूका अनुसार अध्यक्ष ओलीले माधव नेपालबाहेकको पार्टी एकता र माधव नेपालले ओलीसमान हैसियत खोजेकाले एकता प्रक्रिया जटिल बन्दै गएको छ । ओली र नेपाल दुबैले सार्वजनिक कार्यक्रममा एकले अर्काको आलोचना गरिरहेका छन् । ओलीले नेपाललाई पार्टीमा ठाउँ छैन भनेका छन् भने नेपालले फेरि प्रधानमन्त्री बन्ने अभिलाषा नबोक्न चेतावनी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस