सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

रासस

शनिबार, १६ साउन २०७८, ०९ : २३
सर्पले डसेका बिरामीको सङ्ख्या बढ्दै

जलेश्वर । प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ । महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा. सतिश साहका अनुसार एक-दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन् ।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा. साहले बताए ।  

पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने ठाउँमा पानी भरेको र सर्प लुक्ने झारीसमेत ओसिलो भएको कारण सर्प गाउँ बस्तीमा पस्ने गरेको पाइएको छ । त्यही क्रममा कुनै प्रकारले सर्पलाई मानिसबाट नोक्सानी भएको पाइएमा वा नजानेर पनि सर्पलाई छुन गएको खण्डमा सर्पले टोक्ने गरेको डा साहले बताए । 

डा. साहले अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्पले डसेको तथा केही मात्रै विषालु सर्पले डसेको बिरामी आउने गरेको बताए । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् । 

जिल्लाको विभिन्न गाउँठाउँबाट दर्जनौँ व्यक्ति उपचारका लागि आउने यस अस्पतालमा सीमापारि भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले डसेको बिरामी उपचारार्थ आउँछन् । महोत्तरीमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायतका छन् भने विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने र सबैतिर सजिलै भेटिने करेत र गोमन छन् ।

विगत दुई सातादेखि जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामी दैनिकरुपमा आउने गरेका छन् । यस वर्ष अहिलेसम्म सर्पले टोकेर जलेश्वर अस्पतालमा उपचारका लागि आइसकेका कुनै पनि व्यक्तिको मृत्यु नभएको डा. साहले बताए । उनले जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेकोे बिरामीलाई लगाइएने एन्टी स्नेक भेनम सुइँ पर्याप्त रहेको बताए । सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल (डोज) लगाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस