चितवन । चितवनको भरतपुर अस्पतालमा विगत तीन महिनामा २९१ जना सर्पदंशका बिरामीको उपचार गरिएको छ । वर्षा सुरु भएसँगै सर्पदंशका बिरामीको सङ्ख्या बढेको हो ।
अस्पतालका आकस्मिक कक्ष प्रमुख अलाउद्दिन मियाँका अनुसार अस्पतालले गत वैशाखमा ६० र जेठमा १०५ जना सर्पदंशका बिरामीको उपचार गरेको छ । तीमध्ये पाँच जना विषालु सर्पले डसेका थिए ।
यस्तै असार महिनामा एक सय २६ जना सर्पदंशका बिरामीको उपचार गरिएका मध्ये नौ जना विशालु सर्पले डसेका बिरामी रहेको मियाँले जानकारी दिए ।
अस्पतालमा सर्पदंशका बिरामी चितवनसहित, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) तनहुँ, गोरखा लमजुङ्देखि आउने गरेका छन् ।
अस्पतालमा आएका बिरामीलाई कम्तीमा ६ घण्टा निगरानीमा राखेर बिरामीको लक्षण अनुसार उपचार गरिने गरेको उनको भनाइ छ ।
विषालु सर्प अन्तर्गत करेत, कोभ्रा, गोमन, भाइपर लगायतका सर्पले टोक्ने गर्दछ । करेत र गोमन, कोभ्राले टोक्दा बिरामीको नशालाई असर पुर्याउने गर्दछ भने भाइपरले टोक्दा बिरामीको रगतको तत्वमा असर गर्ने उनले बताए ।
विषालु सर्पले टोकेका बिरामीलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिन्छ भने अन्यलाई आकस्मिक कक्षमा नै राखेर उपचार गरिँदै आएको छ । अहिले दैनिक १० देखि १२ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।
यस अस्पतालमा सर्पदंशको उपचार राम्रो हुने भएकाले यहाँ बिरामी धेरै आउने गरेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ साउन २०८२, ०९ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलवस्तुमा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु
सर्पले डस्दा युवतीको मृत्यु
सर्पले डस्दा महिलाको मृत्यु
सर्पले डसेर १३ वर्षीय किशोरको मृत्यु
धनगढीमा सर्पको टोकाइबाट एक शिक्षिकाको मृत्यु
गोमन सर्पले डस्दा सर्लाहीमा एक युवकको मृत्यु