ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

रासस

सोमबार, ११ साउन २०७८, ०८ : १९
ओढारमा भेटियो २२ नाल भरुवा बन्दुक

गलकोट । बागलुङमा लुकाइराखेको अवस्थामा प्रहरीले २२ नाल भरुवा बन्दुक फेला पारेको छ । आइतबार दिउँसो प्रहरीचौकी बुङ्गादोभान बागलुङबाट खटिएको प्रहरीको गस्ती टोलीले २२ नाल भरुवा बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । 

जिल्लाको तमानखोला गाउँपालिका–४ लाममेलास्थित घट्टेखोला नजिकै रहेको ओढारमा एकनाले भरुवा बन्दुक १२ थान र तमानखोला–३ मार्के खोलाको ओढारमा एकनाले १० थान बन्दुक फेला परेको हो ।

प्रहरीले भरुवा बन्दुकसहित स्थानीयवासीलाई विभिन्न समयमा पक्राउ गर्दै आएपछि स्थानीयवासीले डराएर ओढारमा लगेर भरुवा बन्दुक लुकाउन थालेको प्रहरीको भनाइ छ ।

“बागलुङको पश्चिम क्षेत्रमा भरुवा बन्दुक लुकाउने र शिकार खेल्ने परिपाटी रहेछ, हामी निस्तेज पार्ने अभियानमा छौँ”, प्रनाउ हवारीले भने, “प्रहरीले भरुवा बन्दुक पक्राउमा सक्रियता देखाएपछि आफू फस्ने डरले केहीले ओढारमा त केहीले जङ्गलमा लुकाउन थालेका हुन् ।” ओढारमा भरुवा बन्दुक लुकाइछिपाई राख्नेका बारेमा थप अनुसन्धान र खोजतलास भइरहेको प्रहरीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस