एमाले विवाद संसदीय समितिमा यसरी भयो छताछुल्ल...

पत्रपत्रिकाबाट

सोमबार, ११ साउन २०७८, ०८ : १४
एमाले विवाद संसदीय समितिमा यसरी भयो छताछुल्ल...

काठमाडौं । नेकपा एमालेभित्रको विवाद संसदीय समितिमा पनि देखिएको छ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला संसदीय समितिमा एमालेका सांसदहरूबीच भनाभन भएको हो ।

संसदीय समितिमा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संसद् बचाउन सकेकोमा समितिका सदस्यहरूलाई बधाई दिँदा एमालेकै सांसद नारदमुनि रानाले प्रतिवाद गरेपछि विवाद उत्पन्न भएको थियो ।

सांसद रानाले संसद् पुनःस्थापना र अहिलेको सरकार सर्वोच्च अदालतले बनाइदिएको भनेर प्रतिवाद गरेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा हंगामा मच्चिएको थियो । आफ्नो बोल्ने पालो आएपछि एमाले संस्थापन पक्षका सांसद रानाले अहिलेको संसद् र सरकार परमादेशले बनाएको भनेपछि कांग्रेस, माओवादी र माधव नेपाल पक्षका सांसद आक्रोशित बनेका थिए ।

रानाले परमादेशको प्रसंग उठाएपछि नेता नेपालले प्रतिगमनको पक्ष लिने तपाईं बैठकबाट बाहिर जानुस् भनेर आक्रोश व्यक्त गरे । कांग्रेस सांसद विपीन राजभण्डारीले संसद् र सरकार जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए। 

सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलालाई आग्रहसमेत गरेका थिए । सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठक स्थल नभएको भन्दै समितिले दिएको विषयमा केन्द्रित हुन आग्रह गरे पनि सांसदहरू रानामाथि खनिएका थिए । नेपाल समाचारपत्रले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस