विवेकशील साझाद्वारा झलनाथ खनाललाई दिइएको उपचार खर्चबारे सूचनामा माग

सफल खबर संवाददाता

आइतबार, १० साउन २०७८, १५ : २५
विवेकशील साझाद्वारा झलनाथ खनाललाई दिइएको उपचार खर्चबारे सूचनामा माग

काठमाडौं । विवेकशील साझा पार्टीले पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाललाई दिइएको उपचार खर्चबारे सूचनामा माग गरेको छ । 

सो पार्टीका सचिवालय सदस्य पुकार बम, संघीय समिति सदस्य हरीश भट्ट र बागमती प्रदेश संचार विभाग प्रमुख रन्जन कार्कीले आज प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सूचना माग गर्दै निवेदन दर्ता गराएका हुन् । निवेदनमा खनाललाई निकासा भएको भनिएको रकम जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० अनुसार गैर कानुनी भएकोले त्यसलाई रोक्न माग गरिएको छ ।  

जनस्वास्थ्य ऐन, २०७५ को दफा ३० मा अनुसार प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध नगराइने उल्लेख छ । 

पार्टीले आज बुझाएको ज्ञापनपत्रमा भनिएको छ,  ‘नेता खनाललाई नेपालको पूर्व प्रधानमन्त्री र नेपालको लोकतान्त्रिक आन्दोलनका अगुवा नेताको रूपमा हामी उहाँलाई सम्मान गर्दछौँ र आवश्यक परे हामी नागरिक स्तरमा उहाँको स्वास्थ्योपचार खर्च जुटाउन पहल गर्न तैयार छौँ, तर उहाँको लागि भनेर सरकारले गैर कानुनी रूपमा खर्च वितरण नगरोस् भनेर सचेत गराउन चाहन्छौँ।’

ज्ञापनपत्रमा थप उल्लेख गरिएको छ, ‘यस घडीमा यो कार्यले नेता खनालको मान मर्दन गर्ने र यो कार्यले खनालको त्याग र समर्पणमै प्रश्न उठ्ने हुँदा सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौँ। साथै, यो गैर कानुनी काम नरोकिए हामी कानुन अनुसार अगाडी बढ्ने कुरा विनम्रताका साथ यहाँहरू समक्ष राख्छौँ।”
पार्टीले प्रधानमन्त्री कार्यालयमा सूचनाको हकको प्रयोग गरि कुन मितिमा कति रकम निकाशा गरिएको, 

कुन कानुनमा टेकेर निर्णय गरियो, प्रधानमन्त्री हुँदा बालुवाटारमा केपी ओलीले चिया नास्ताको रुपमा कति खर्च गरेलगायतका सूचनामा माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस