कोराना त्रासका बिच शुरु हुँदै ओलम्पिक, नेपालबाट पाँच खेलाडी सहभागी

पत्रपत्रिकाबाट

शुक्रबार, ०८ साउन २०७८, ०७ : ५९
कोराना त्रासका बिच शुरु हुँदै ओलम्पिक, नेपालबाट पाँच खेलाडी सहभागी

काठमाडौं । कोरोना भाइरस महामारीका कारण प्रभावित ३२औं ग्रीष्मकालीन ओलम्पिक पहिलोपटक सीमित अतिथि र समर्थकका बीच शुक्रबार जापानको राजधानी टोकियोमा सुरु हुँदैछ।

महामारीका कारण एक वर्ष ढिला गरी हुन लागेको टोकियो ओलम्पिक २०२० उद्घाटन हुँदा स्टेडियममा यसअघिका संस्करणभन्दा फरक दृश्य देखिनेछ। १ सय २५ वर्षको इतिहास बोकेको ओलम्पिक यसपटक अगस्ट ८ सम्म सञ्चालन हुनेछ। २ सय ४ राष्ट्रका ११ हजार २ सय ८८ खेलाडीले प्रतिस्पर्धा गर्ने टोकियो ओलम्पिकमा नेपालका पाँच खेलाडी सहभागी हुँदैछन्। 

ओलम्पिकको उद्घाटन जापानका सम्राट नारुहितोले नेपाली समयअनुसार साँझ ४ः४५ मा गर्नेछन्। उक्त उद्घाटन समारोहमा नेपालका पाँचमध्ये सीमित खेलाडी, प्रशिक्षक र ६ जना अफिसियलको सहभागिता रहनेछ। ‘लगत्तै भोलिपल्ट नै प्रतिस्पर्धा भएकाले कतिजना खेलाडीलाई मार्च पास्टमा लैजाने भन्ने निर्णय भएको छैन। यहाँको बेलुका चार बजेदेखि तयारी हुनेछ र समापन ११ बजे हुन्छ।  

यस्तो स्थितिमा खेलाडी थकित हुन सक्छन्। त्यसैले उपलब्ध चार खेलाडीमध्ये पौडीका मात्र समावेश हुन सक्छन्। यस विषयमा शुक्रबार बिहान निर्णय गर्छौं,’ नेपाल ओलम्पिक कमिटी ९एनओसीका० उपाध्यक्ष चतुरानन्द राजबैद्यले भने, ‘आयोजकको नियमअनुसार हरेक देशबाट खेलाडीबाहेक ६ अफिसियल मात्र सहभागी हुन पाउनेछन्।’

ओलम्पिक उद्घाटन अवसरमा १३औं दक्षिण एसियाली खेलकुद ९साग० का चार स्वर्ण विजेता पौडीका गौरिका सिंह र एलेक्जेन्डर शाहले मार्च पास्टका क्रममा संयुक्त रूपमा नेपालको झन्डा बोक्नेछन्। एनओसीले पत्रकार सम्मेलनमार्फत गौरिकाले नेपालको झन्डा बोक्ने जनाएको थियो। आइओसीको लैंगिक समानता प्रावधानअनुसार महिला र पुरुष दुवैले झन्डा बोक्ने नियम भएकाले एलेक्जेन्डरले गौरिकासँग संयुक्त रूपमा झन्डा लिने भएका हुन्।  

उद्घाटन समारोहमा करिब ९ सयजना मात्र सहभागी रहनेछन्। जापानकै ८० प्रतिशत जनता आयोजनाको विपक्षमा रहेकाले निकै कम उत्साहका साथ टोकियो ओलम्पिक सुरु हुँदैछ। उद्घाटन समारोहको विशेषता विभिन्न देशका भेषभूसा प्रदर्शनी, स्वागत भाषण, आआफ्ना देशका झन्डासहित खेलाडीको परेड, आयोजक देशको इतिहास तथा संस्कृति झल्कने प्रस्तुति रहनेछन्। यस संस्करणमा कलाकारका अधिकांश प्रस्तुति रेकर्डेड हुनेछन्। यो संस्करणको तयारी गतवर्ष नै लगभग पूरा भइसकेको थियो। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस