नर्भिक हस्पिटलले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, १३ : २७
नर्भिक हस्पिटलले ६ अर्ब लगानी थप्दै, दुहबी र भैरहवामा पनि अस्पताल बन्ने

काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो सेवालाई बिस्तार गर्ने गरि पञ्चवर्षीय रणनीति सार्वजनिक गरेको छ ।पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएपछि बनेको नयाँ संचालक समिति र व्यवस्थापनको उच्च तहको जिम्मेवारी पाएकाहरुका लागि इण्डक्सन प्रोग्राम परिचयात्मक कार्यक्रम आयोजना गरि नर्भिकले आफ्नो पञ्चवर्षीय बिस्तार रणनीति सार्वजनिक गरेको हो ।

ठमेलस्थित होटल अलफ्टमा आयोजित कार्यक्रममा नर्भिक अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरीले पाँच वर्षे रणनीति सार्वजनिक गरिन् ।उनले अबको पाँच वर्षभित्र नर्भिक अस्पतालले आफ्नो सेवालाई व्यापक रुपमा बिस्तार गर्ने योजनाको बिषयमा जानकारी दिइन् ।

सन् २०२२ देखि २०२६ भित्रमा थापाथलीमा रहेको नर्भिक अस्पतालको सेवा अझ बिस्तार गरिनेछ । थापाथलीमा २ अर्ब रुपैयाँभन्दा बढिको लगानीमा अत्याधुनिक अर्को भवन बनाएर हालको सेवालाई बिस्तार गरिने र सेवा बिस्तारसँगै नर्भिक अस्पताल ‘सुपर स्पेसियालिटी अस्पताल’को रुपमा रुपान्तरण हुने उल्लेख छ । थापाथलीमा अर्को भवन समेत बनेपछि नर्भिकले २ सय शय्याको भव्य अस्पतालबाट सेवा संचालन गर्ने जनाइएको छ ।

यस्तै, आगामी पाँच वर्षभित्र नर्भिकले भैरहवामा १०० शय्या तथा सुनसरीको दुहबीमा पनि १०० शय्याको दुईवटा स्याटेलाइट अस्पताल निर्माण गरि संचालनमा ल्याइने योजना छ । यी दुवै अस्पताल निर्माणमा ३ अर्ब रुपैयाँभन्दा बढि लगानी हुनेछ ।यो अवधिमा नर्भिकको अत्याधुनिक कर्पोरेट अफिस समेत बन्ने कार्ययोजनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस