एमालेमा ओली–नेपाल विवाद : ‘न मिल्न सक्छन्, न कारवाही नै गर्न सक्छन्’

सफल खबर संवाददाता

विहीबार, ०७ साउन २०७८, ०९ : ०६
एमालेमा ओली–नेपाल विवाद : ‘न मिल्न सक्छन्, न कारवाही नै गर्न सक्छन्’

काठमाडौं । एमालेमा चलेको अन्तहिन विवाद कसरी टुगिएला ? यो कुन विन्दुमा पुगेर थेग्रिएला ? न संस्थापन पक्षका नेताहरु बताउन सक्छन्, न माधव नेपाल समुहका नेताहरु नै । नेकपाकालिन अवस्थाको विवाद अहिलेसम्म पनि नएमालेमा जारी नै छ । पार्टीमा दुई पक्ष छन्, ओली र माधव नेपालका । दुवैका आ–आफनो समुहका बैठक बसिरहेका छन् , तर कुनै निर्णय विवाद मिलाउने गरी लिन सक्ने हैसियत दुवैका कमिटिले देखाईरहेका छैनन् ।

निर्णायक निर्णय, वारपारकै निर्णय लिने भनेको पनि दुवै पक्षले लामै समय भईसक्यो । बुधबार मात्रै पनि दुवै पक्षका आ–आफनै संरचनाका बैठक बसे । ओलीको केन्द्रीय समिति बैठक बस्यो , ललितपुर च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा । नेपाल समुहका पनि बुद्धनगरमा स्थायी समितिको बैठक बस्यो । तर दुवैले सारमा एकताका लागि हदैसम्म लचिलो बन्ने र एकता प्रति प्रतिबद्ध रहेको निश्कर्ष बैठकपछि सुनाए । त्यो हदैसम्मको लचिलो विषय के हो ? कसरी एकताबद्ध एमाले बनाउने भन्नेमा कसैले केही बताएनन् ।

जस्तो की एमाले ओली पक्षको केन्द्रीय समिति बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले भने :
पार्टी एकताप्रति हामी एकदमै प्रतिबद्ध छौं । अध्यक्षले बैठकलाई सम्बोधन गर्ने क्रममा पनि भन्नुभएको छ, एमाले एकताका लागि आफ्नो तर्फबाट हदैसम्म लचकता देखाईएको छ । १० बुँदे प्रस्ताव प्रति पार्टी प्रतिबद्ध छ । पार्टीलाई जेठ २ मा सम्पूर्ण रुपले फर्काइदिएको छ । उहाँहरु (नेपाल) पक्षलाई गम्भिरतापूर्वक पार्टी एकताको पक्षमा आउन अपिल गर्नुभएको छ ।

नेपाल पक्ष पनि सर्वोच्चले धारा ७६ (५) को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलीय ह्वीप नलाग्ने प्रवाधान अनुसार विश्वासको मत दिएकामा कारवाही गरिए अदालतको अपहेलना मुद्दा हाल्न जाने भित्री तयारीमा जुटेको छ । यसले एमाले विवाद एक अर्कोलाई हेर्ने र रमिता देखाएरै बस्ने स्थितीसम्म मात्र पुगेको छ । जसकाकारण न ओलीले नेपाललाई केही गर्न सकिरहेका छन्, न नेपालले नै ओली बिनाको नयाँ पार्टी बनाउने हिम्मत गरिसकेका छन् ।

नेपाल पक्षको बैठकपछि रघुजी पन्तले भने :
संसदमा विश्वासको मतपछिको अवस्थालाई लिएर हामी छलफलमा बस्यौँ। बैठकले एकता प्रक्रियालाई अघि बढाउनुपर्छ, त्यसमै जोड दिनुपर्छ भन्ने निष्कर्ष निकाल्यो । तर अध्यक्ष ओली पक्षबाट भइरहेका एकता विरोधी गतिविधिले समस्या बनाएको छ। एकता वार्ता चलिरहेको र १० बुँदे सहमति पनि बुझाएको अवस्थामा वरिष्ठ नेता माधव नेपालविरुद्ध नारा जुलुस र पुत्ला जलाउने गतिविधि ओलीपक्षबाट भइरहेका छन् । सर्वोच्च अदालतको फैसला र संविधानले नै दिएको अधिकार अनुसार आफ्नो विवेक प्रयोग गरेर मत दिने सांसदहरुलाई डर त्रास देखाउने काम भएको छ ।

दुवै पक्षका नेताहरुका सार्वजनिक यस्ता अभिव्यक्ति हेर्दा र सुन्दा लाग्छ अब एमाले एकताबद्ध हुने तयारीमा छ । तर बोली र ब्यवहारमा त्यस्तो देखिदैन् । अर्को तथ्य पनि हेरौं ।

ओलीको केन्द्रीय समितिको बैठकले संसदमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय सोमबार गरेको थियो । २४ घण्टे स्पष्टीकरण नेपाल पक्षका २२ सांसदलाई सोध्ने निर्णय ओली पक्षले गर्यो । त्यसपछि २४ घण्टा सम्म त के बुधबार मध्यान्ह्सम्म पनि नेपाल पक्षका सांसदको हातमा ओलीले स्पष्टीकरण थमाउन सकेनन् । पार्टीले सोधेको स्पष्टीकरणमा अब के हुन्छ ? पत्रकारहरुले ओली पक्षका नेतालाई जब प्रश्न सोध्न थालिन्थ्यो, तब प्रवक्ता ज्ञवालीले जवाफ फर्काउथे, स्पष्टिकरण पत्र उहाँहरुको हातमा थमाइएको २४ घण्टे हो ।

बुधबार दिउँँसो भने नेपाल पक्षका देउवालाई विश्वासको मत दिएका सांसदलाई स्पष्टिकरण थमाइयो । पार्टीका विरुद्ध भेला आयोजना, गुटगत गतिविधि सञ्चालन गरेको पार्टी निर्णय र विद्यान विपरित गुटवन्दी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारम्बार उल्लंघन गरेको पार्टीप्रतिको निष्ठा र भ्रम फैलाउने काम गरेको जस्ता आरोपमा स्पष्टीकरणमा सोधिएको छ ।  अर्कोतिर ओलीले नेपाल पक्षभित्रै भ्रम छर्न र विभाजन ल्याउन माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव गर्दा पनि उनी एकताप्रति तयार नै नभएको भन्दै ओलीको केन्द्रीय कमिटिमा अभिब्यक्ति दिएका छन् ।

‘हामी एमालेको एकता बचाउनका लागि हदैसम्म लचिलो भएका छौँ’, अन्तिम अवस्थासम्म पनि एकताका लागि प्रयास जारी राखेका छौँ। बुँदे सहमति कार्यान्वयन गर्न म प्रतिबद्ध छु । एकता भएमा कार्यदलको सहमति अनुसार नै पार्टीका सबै संरचनाहरु ०७५ जेठ २ कै अवस्थाबाट क्रियाशील हुनेछन्। माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागेका छन् । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल यदि आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु। मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन्। अनेक बहाना खोजिएको छ, गरिएको छ । यतिसम्म लचिलो हुँदा पनि केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन्। किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनुस् कमरेडहरु, त्यस्तो हुन दिइने छैन् । किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन्।

दुवैका समस्या
एमाले विवादमा ओली र नेपाल दुवैका आ–आफ्नै समस्या छन् । जसकाकारण दुबै पर्खेर बसेका छन् । ओलीले के निर्णय लिन्छन ? त्यो पर्खेर माधव नेपाल र माधव नेपालले के निर्णय लिन्छन् भनेर केपी ओली पर्खेर बसेका छन् । माधव नेपाल समुह विभाजन गरेर नेपाल बाहेक अन्य नेतालाई कसरी एमालेमा तान्ने भन्नेमा ओली देखिन्छन् । नेपाल पनि आफनो विभिाजित हुन खोजेको समुहलाई अझै एकतावद्ध बनाएर ओली पक्षका असन्तुष्टलाई पनि कसरी आफुतिर तान्न सकिन्छ भनेर पर्खेर बसेका छन् । त्यही कारण पनि दुवैले ठोस निर्णय लिन सकेका छैनन् ।

ओलीले आज दिँउँसो पुष्पला स्मृति दिवसको कार्यक्रम मनाएर बस्ने केन्द्रीय समिति बैठकपछि स्पष्टीकरण सोधेकाहरुको विषयमा पार्टीले निर्णय लिने चेतावनी दिएका छन् । नेपाल पक्ष पनि सर्वोच्चले धारा ७६ (५) को प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलीय ह्वीप नलाग्ने प्रवाधान अनुसार विश्वासको मत दिएकामा कारवाही गरिए अदालतको अपहेलना मुद्दा हाल्न जाने भित्री तयारीमा जुटेको छ । यसले एमाले विवाद एक अर्कोलाई हेर्ने र रमिता देखाएरै बस्ने स्थितीसम्म मात्र पुगेको छ । जसकाकारण न ओलीले नेपाललाई केही गर्न सकिरहेका छन्, न नेपालले नै ओली बिनाको नयाँ पार्टी बनाउने हिम्मत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस