बाढी प्रभावितलाई १२ लाख सहयोग

रासस

मंगलबार, ०५ साउन २०७८, २१ : ३०
बाढी प्रभावितलाई १२ लाख सहयोग

सांकेतिक तस्वीर

काठमाडौं । असार १ गतेको अविरल वर्षा र भीषण बाढीबाट प्रभावित स्थानीय तह मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल गाँउपालिका र हेलम्बु गाँउपालिकालाई नेपाल सरकारका पूर्वसचिव सुमनप्रसाद शर्माको टोलीले आर्थिक सहयोग गरेको छ ।

मेलम्ची नगरपालिका र पाँचपोखरीलाई तीन/तीन लाख र हेलम्बुलाई छ लाख हस्तान्तरण गरिएको मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा शम्भुप्रसाद कट्टेलले जानकारी दिए ।

सो रकम मेलम्ची नपामा सोमबार नगरप्रमुख डम्बर अर्याललाई हस्तान्तरण गर्नुभयो भने पाँचपोखरी थाङपाल गापा अध्यक्ष टासी लामा काम विशेषले काठमाडौँमा रहनुभएकामा उहाँलाई भेट गरी आज हस्तान्तरण गरिएको कट्टेलले बताए ।

सोमबार हेलम्बु गाउँपालिकालाई छ लाख रकम सहयोग गरिएको छ । सो रकम अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई सोमबार हस्तान्तरण गरिएको हो । रकम प्रदान गर्दै कट्टेलले हेलम्बुको समस्यामा सहयोगका लागि लागिपर्दा शुभेच्छुकबबाट स्वतस्फूर्त रूपमा सङ्कलित भएको रकमले सानै भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सहयोग रकम नेपाल सरकारका पूर्वसचिव शर्माको अग्रसरतामा मेलम्ची खानेपानी विकास समितिका सामाजिक विकास विज्ञ डा शम्भुप्रसाद कट्टेल र कर्मचारी ऋषिराम पौडेलको प्रत्यक्ष सहभागितामा मेलम्ची खानेपानीसँग जोडिएका व्यक्ति, संस्था, कम्पनी तथा आयोजनाका कर्मचारीबाट सङ्कलित भएको रकम हो ।

प्रतिक्रिया दिनुहोस