एकता घोषणा वैशाख ९ मै हुनेमा आशंका

पत्रपत्रिकाबाट

शुक्रबार, ३० चैत्र २०७४, ०७ : १३
एकता घोषणा  वैशाख ९ मै  हुनेमा आशंका

एमाले र माओवादी केन्द्रबीच तोकिएको मितिमै पार्टी एकता घोषणा हुनेमा संशय देखिएको छ । कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर आगामी वैशाख ९ गते एकता घोषणा गर्ने अनौपचारिक कुराकानी भए पनि आन्तरिक तयारी सुस्त छ ।

पार्टी एकतासम्बन्धी विधान र राजनीतिक प्रतिवेदन तयार पार्न गठित कार्यदलले वैशाख ९ मा पार्टी एकता गर्न सुझाएको थियो । त्यही दिन घोषणा गर्ने गरी दुवै दलले आ–आफ्नो पार्टीमा आन्तरिक तयारी अघि बढाउने भनिएको थियो । तर, वाम एकता संयोजन समिति बैठकले एकताको औपचारिक मिति तय गर्दै दुई दलबीच विवादित विषय निरूपण नगर्दा दुवै दलमा संशय छाएको छ ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली भारत भ्रमणमा जानुअघि गत २२ गते समितिको बैठक बसेको थियो । उक्त बैठकले भारत भ्रमणलगत्तै विवादित विषय टुंगो लगाउने समझदारी गरेको थियो । तर, प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि बैठक नै बस्न सकेको छैन ।

कहिले बैठक बस्ने भन्ने तय नभएको समितिका सदस्यसमेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए । ‘एकता संयोजन समितिको बैठक बसेर टुंगो लगाउने भनिएको हो, नेताहरूको व्यस्तताका कारण बैठक बस्न सकेको छैन,’ उनले भने ।

एमाले र माओवादीबीच एकताका लागि आन्तरिक तयारी गर्न एउटा व्यवस्थापन समिति बनाउने भनिएको थियो । जनपरिचालनलगायत कामका लागि सहजीकरण गर्न त्यस्तो समिति आवश्यक ठानिएको थियो । तर, त्यो समिति नै बनेको छैन । त्यसैले जनवर्गीय संगठन परिचालन गर्ने भनिए पनि उनीहरूले एकतासम्बन्धी काम अघि बढाएका छैनन् ।

एमाले र माओवादीबीच तीनवटा विषयमा अझै विवाद छ । जनयुद्ध, चुनाव चिहन र एकीकृत पार्टीको केन्द्रीय समितिमा कुन पार्टीका कति जना रहने भन्ने विषय टुंगो लगाउन बाँकी छ । माओवादीले बराबरी हैसियतमा एकता गर्नुपर्ने धारणा राखेपछि दुई दलबीचको दूरी केही बढेको छ । त्यस्तै प्रधानमन्त्री ओलीले सरकारमा एकलौटी ढंगले निर्णय गर्न थालेको गुनासो पनि माओवादी पक्षले गरेको छ ।

पछिल्लो ३० सचिव सरुवा प्रकरणलाई लिएर माओवादी मन्त्रीहरू रुष्ट छन् । यो प्रकरणपछि प्रधानमन्त्री ओली र दाहालबीच प्रहरी महानिरीक्षक नियुक्ति सन्दर्भमा औपचारिक कुराकानी भयो । तर, पार्टी एकता र सरकारको कार्यशैलीका विषयमा कुराकानी हुन सकेको छैन । बुधबार एकता संयोजन समितिको बैठक बोलाइएको थियो ।

तर, माओवादी अध्यक्ष दाहाल बिरामी भएको भन्दै स्थगित गरियो । दाहालको अस्वस्थता शारीरिक हो कि राजनीतिक भन्नेबारे अहिले दुई दल वृत्तमा चर्चा भइरहेको छ । दाहाल बिहीबार चितवन पुगेका छन् । शुक्रबार पनि उनी त्यहीँ रहनेछन् । प्रधानमन्त्री ओली शुक्रबार कर्णाली जाने कार्यक्रम छ । उनी वैशाख १ गते शनिबार रारामा हुने कार्यक्रममा सहभागी हुनेछन् । त्यसैले अझै दुई दिन एकतासम्बन्धी बैठक बस्ने छैन । एकताका लागि अनौपचारिक रूपमा तय गरिएको मिति आउन करिब एक साता बाँकी रहँदा विवादित मुद्दा टुंगो लाग्न नसकेपछि आशंका बढेको हो । यद्यपि पार्टी एकताकै विषयमा छलफल गर्न भन्दै एमालेले बोलाएको वैशाख ६ को पोलिटब्युरो र ७ गतेको केन्द्रीय समिति बैठक भने यथावत् छन् ।, कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस