बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु

सफल खबर संवाददाता

मंगलबार, ०५ साउन २०७८, १२ : ०४
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु

मोरङ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा पूर्ण रुपमा सुचारु भएको छ । प्रतिष्ठानका चिकित्सक, नर्स, विद्यार्थी र कर्मचारीले आन्दोलन गर्दै आएका कारण दैनिक दुई घण्टा ओपिडी सेवा बन्द रहँदै आएको थियो ।

प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएर आन्दोलनकारीका माग सम्बोधनको पहल गरेपछि मंगलबारदेखि ओपिडी सेवा सुचारु भएको हो ।संयुक्त संघर्ष समितिका डा अमृत जैसीले लामो समयदेखि आन्दोलन गर्दै आएका चिकित्सक, नर्स, कर्मचारी लगायत आन्दोलनकारीहरु मंगलबारबाट काममा फर्किएको बताए ।

प्रधानमन्त्री कार्यालयले बनाएको कार्यदल धरान आएपछि आफ्ना माग सम्बोधन हुने आशाका साथ आफुहरु लचिलो बनेको उनले बताए ।प्रधानमन्त्री कार्यालयका सचिव डा। बैकुण्ठ अर्याल नेतृत्वको नौ सदस्यीय कार्यदलले सोमबार संयुक्त संघर्ष समितिसँग छलफल गरेको थियो ।

विगत ३५ दिनदेखि जारी शुद्धीकरण अभियानअन्तर्गतको आन्दोलन निकासतर्फ उन्मुख भएको आन्दोलनकारीको बुझाइ छसंयुक्त संघर्ष समितिका संयोजक एसपी रिमालले आफूहरूले उठाएका विषयमा ढिलै भए पनि सरकारले सुन्ने र बुझ्ने अग्रसरता देखाएकाले त्यसलाई आफूहरुले सकारात्मक रुपमा ग्रहण गरेको बताए ।

उनले कार्यदलको अध्ययनपश्चात तयार प्रतिवेदन सार्वजनिक गरी लागू नहुँदासम्म आन्दोलनका तथा खबरदारीका कार्यक्रमहरू भने जारी रहने प्रस्ट पारे ।आन्दोलनका कारण बिरामीले उपचार सेवा पाउनबाट बञ्चित नहुन् भन्ने उद्देश्यका साथ आफूहरूले निर्धारित आन्दोलनका कार्यक्रम परिमार्जन गरेको बताए ।

प्रतिष्ठानको बेथितिविरुद्ध गत असार १ देखि १२ बुँदे माग राख्दै प्रतिष्ठानमा कार्यरत चिकित्सक, कर्मचारी र विद्यार्थी आन्दोलित हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस