मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

रासस

सोमबार, ०४ साउन २०७८, २० : ५३
मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

काठमाडौँ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् ।

मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका हुन् । 

स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागार्इंले जानकारी दिए ।

नवलपुरमा १५ हजार मात्रा  सो खोप आएको चापागार्इंले बताउनुभयो । उक्त खोप मङ्गलबार बस्ने विपद् व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार जिल्लामा वितरण गरिने चापागार्इंको भनाइ छ । 

नेपालमा अहिलेसम्म आएको खोपको दुई मात्रा लगाउनुपर्ने थियो भने जोन्सन एन्ड जोन्सन खोप एकपटक मात्र लगाए पुग्नेछ । खोप कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेशका सबै नागरिकलाई कोरोना विरुद्धको खोप प्रदेश सरकारको पहिलो प्राथमिकता भएको बताए ।

प्रदेशको स्वास्थ्य, शिक्षामा विशेष जोड दिँदै समृद्ध गण्डकी प्रदेश निर्माण गर्ने अभियानमा आफ्नो सरकार लागिरहेको पोखरेलको भनाइ छ । मुख्यमन्त्रीमा निर्वाचित भएपछि पोखरेल पहिलोपटक गृह जिल्ला आएका हुन् ।

आइतबार गृह जिल्ला आउनुभएका मुख्यमन्त्री पोखरेलले सोमबार स्वास्थ्य कार्यालय नवलपुर, शिक्षा तथा समन्वय एकाइ कार्यालय लगायतका कार्यालयहरुको निरीक्षणसमेत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस