ओलीले नियुक्ति सिफारिस गरेका ११ मुलुकका राजदुतको गुम्यो पद

सफल खबर संवाददाता

आइतबार, ०३ साउन २०७८, १० : ३३
ओलीले नियुक्ति सिफारिस गरेका ११ मुलुकका राजदुतको गुम्यो पद

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले विभिन्न् ११ देशमा राजदुत नियुक्तिका लागि गरेको सिफारिस प्रक्रिया रद्द गर्ने निर्णय सरकारले गरेको छ । ओली सरकारले संसदको सुनुवाई समिति समेत छलेर विभिन्न् सम्वैधानिक आयोगका पदाधिकारी र राजदुत नियुक्ति गर्दै आएको थियो ।

त्यसक्रममा प्रक्रियामै रहेको ११ मुलुकको राजदुत नियुक्तिको प्रक्रियालाई भने रद्द गर्ने निर्णय शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले गरेको खुलेको छ । सरकारले औपचारिक रुपमा सार्वजनिक नगरिसकेपनि शुक्रवारको वैठकले नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

ओली सरकारले नियुक्ति प्रक्रिया अगाडी बढाएका ११ मुलुकको राजदुतको एग्रिमोका लागि  परराष्ट्र मन्त्रालयले सम्वन्धित  मुलुकहरुमा पत्राचार गरिसकेको थियो । तर सरकारले राजदुत नियुक्तिको प्रक्रिया रोक्ने निर्णय गरेर परराष्ट मन्त्रालयलाई सो अनुसारको प्रक्रिया रद्ध गर्न निर्देशन गरिसकेको छ ।

ओली सरकारको मन्त्रिपरिषदले गत जेठमा ११ मुलुकका लागि राजदूत सिफारिस गरेको थियो।ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, साउथ कोरियाका लागि कृष्णचन्द्र शर्मा, अस्ष्ट्रेलियाका लागि सुम्निमा तुलाधर, रसियाका लागि जंगबहादुर चुहान, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, बहराइनका लागि युवराज कार्की, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी र साउदी अरबियाका लागि मेराज मुसलमानलाई राजदूत तोकिएको थियो।

यी मुलुकहरुमा खटिएका खासगरि ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सत्ता सहकार्यका बेला प्रचण्डको सिफारिसमा नियुक्त भएका राजदूतहरुलाई समयपूर्व नै फिर्ता बोलाउने निर्णय गरिएको थियो। सरकारको यो निर्णयसागै अव प्रक्रिया अगाडी बढेका सबै राजदुतको नियुक्ति प्रक्रिया रोकिएको छ ।