चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, १२ : ००
चितवन मेडिकल कलेजमा दोस्रोपटक कलेजोको सफल प्रत्यारोपण

चितवन । चितवनको चितवन मेडिकल कलेजमा सफलतापूर्वक दोस्रोपटक कलेजो प्रत्यारोपण गरिएको छ । गत चैत ८ गते पहिलोपटक राजधानी काठमाडौं बाहिर कलेजोको सफल प्रत्यारोपण गरेको कलेजले असार १८ गते जाजरकोटका ४७ वर्षीय भरतविक्रम शाहीमा कलेजो प्रत्यारोपण गरेको हो । कुशे गाउँपालिका वडा नं ९ जाजरकोटका शाहीलाई उनकी ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दिएकी थिइन् ।

कलेजले बिहीबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गरी कलेजो दान दिने कमलादेवी शाही असार २७ गते हिजो नै डिस्चार्ज भएको र कलेजो लिने भरतविक्रमको स्वास्थ्य अवस्थामा सुधार भैरहेकाले अर्को साता उनलाई समेत डिस्चार्ज गरिने जनाएको छ ।

कलेजका विषेशज्ञ चिकित्सकहरू डा. सञ्जय यादव, डा. एकानन्द सिंह, डा किरण अधिकारी, डा.बरुण श्रेष्ठ, डा. सागर पौडेल, डा . नविन यादव, डा. सुरेश गौतम, डा. सुवास ओझा, डा. जयन्त कुमार शाह, डा. बीरेन्द्र राउत, स्टाफ नर्स अन्जु थापा, श्रृती यादव, सलिना तिवारी, सुमी कार्की, अस्मिता थापा, पुष्पा थापामगर, बायोमेडिकल इन्जिनियर प्रकाश खतिवडासहित प्रत्यारोपणमा भारतबाट तीन चिकित्सक र तीन जना सहयोगी स्टार्फको समेत संलग्नता रहेको थियो ।

कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक डा .हरिशचन्द्र न्यौपानेले ८ देखि १० वटा प्रत्यारोपणपछि भारतीय चिकित्सकहरूको संलग्नता विना नै प्रत्यारोपण गरिने बताए ।चिकित्सकका अनुसार शाहीको स्वास्थ्य जाँच गराउँदा कलेजो काम नलाग्ने गरी बिग्रिएकाले प्रत्यारोपणको विकल्प थिएन । काठमाडौंमा कलेजोको जाँच तथा उपचार गराउँदै आएका शाही दुई साता अघि चितवन मेडिकल कलेज आएका थिए ।

सिरोसिस् अफ लिभरको ‘ए’, ‘बी’ र ‘सी’ तीन चरणमध्ये शाही ‘सी’ चरणमा पुगेका थिए । गत फागुनमा ‘सी’ चरणमा पुगेका शाहीलाई प्रत्यारोपण नगराएको थप जीवन लम्बाउन नसक्ने अवस्था रहेको डा.यादवले बताए । ‘उहाँको पेटमा पानी भरिएर ठूलो भएको थियो, अल्कोहलका कारण कलेजो बिग्रिएको त थियो नै, हेपाटाइटिस ‘बी’ पनि शाहीमा थियो,’ डा यादवले भने, ‘ट्रान्सप्लान्ट सोचेको भन्दा राम्रो र सफल भयो ।’

कमलादेवीको ६० प्रतिशत कलेजो भरत विक्रममा प्रत्यारोपण गरिएको डाक्टरहरुले बताएका छन् । डोनर कमलादेवीको स्वास्थ्यमा सुधारपछि उनलाई असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको छ । भरतको अवस्था राम्रो हुँदै गैरहेको डा. सञ्जय यादवले बताए । अहिलेकै गतिमा सुधार भए आगामी साता भरतलाई पनि डिस्चार्ज गर्न सकिने कलेजले जनाएको छ । ४ देखि ६ महिनामा दुबै जनामा कलेजोको आकार आफैं विकसित भएर ९० देखि ९५ प्रतिशत पुग्ने चिकित्सकहरु बताउँछन् ।

प्रत्यारोपणका लागि कलेजमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विशेष तालिमप्राप्त नर्सहरु कलेजमा छन् । कलेजमा प्रत्यारोपणका लागि अलग्गै अप्रेशन कक्ष र आइसियू छ ।

कलेजका अध्यक्ष एवम् प्रवन्ध निर्देशक प्रा.डा. हरिशचन्द्र न्यौपानेले चितवन मेडिकल कलेजमा कलेजो सम्बन्धी रोगको उपचार र प्रत्यारोपणका लागि दक्ष जनशक्तिको टिमले एक पछि अर्को सफलता हात पार्दा आफूहरू निकै उत्साही भएको बताए ।

कलेजमा केही वर्षदेखि कलेजो सम्बन्धी नियमित जाँच विषेशज्ञ चिकित्सकबाट हुँदै आएको छ । त्यहींबाट बिरामीहरूको स्क्रीनिङ गरेर प्रत्यारोपण गर्दै जाने योजना कलेजको रहेको प्रवन्ध निर्देशक डा. न्यौपानेले बताए । ‘काठमाडौं बाहिर नै कलेजोको सफल प्रत्यारोपण गराउन सफल भएकाले राजधानी जानुपर्ने बाध्यताको अन्त्य विस्तार हुँदैछ, चितवनलाई कलेजो प्रत्यारोपणको हब बनाउने सोच छ,’ प्रा. डा. न्यौपानेले भने, ‘यसले राष्ट्रिय रूपमा नै सकारात्मक सन्देश, कलेजोका बिरामीलाई जीवनप्रतिको भरोसा एवम् नयाँ आशाको सञ्चार गराउने विश्वास हामीले लिएका छौं ।’

कलेजो प्रत्यारोपणका लागि २५ लाख रुपैयाँ खर्च लाग्ने कलेजले जनाएको छ । सरकारले कलेजो प्रत्यारोपण गराउने बिरामीलाई सरकारले केही सहयोग गरे अझै सस्तोमा प्रत्यारोपण गर्न तयार रहेको डा. न्यौपानेले बताए । कानुनी जटिलताहरुलाई फुकाउँदै सहज बनाएर केही सहयोग गरे प्रत्यारोपणको दर नेपालमा नै बढाउन सकिने न्यौपानेको भनाइ छ । उनले केही समयपछि कलेजले १५ लाखभित्र नै प्रत्यारोपण सेवा दिने दावी गरे ।

यो रकम भारतमा प्रत्यारोपण गराएको भन्दा निकै कम भएको कलेजका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले दावी गरे । ‘नेपालभित्र नै भएकाले फलोअपमा आउँदासमेत भारतमा जानुभन्दा कम खर्च हुन्छ, सहज पनि भयो,’ देवकोटाले भने, ‘स्वदेशी जनशक्ति, सस्तो रकम र निरन्तरको फ्लोअप हुने भएकाले यसबाट बिरामीलाई फाइदा हुने विश्वास लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस