परिवार नियोजनको साधन सहित ‘डिग्निटी किट’ हस्तान्तरण

रासस

विहीबार, ३१ असार २०७८, ११ : ३८
परिवार नियोजनको साधन सहित ‘डिग्निटी किट’ हस्तान्तरण

काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावितलाई एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ ।यही असार १ गते सो नगरपालिकाको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले नगरका वडा नं ६, १० र ११ मा अपूरणीय भौतिक क्षति पु¥याएको थियो । 

शिविरमा पाठेघरका मुखमा हुने अर्वुद परीक्षण, एचआइभी परीक्षण तथा परामर्श, गर्भवती, परिवार नियोजनको स्थायी तथा अस्थायी,प्रयोगशाला, लैङ्गिकताका आधारमा गरिने हिंसा हुन नदिन परामर्श सेवा प्रदान गरिएको सङ्घका कार्यक्रम निर्देशक सुवास श्रेष्ठले जानकारी दिए ।

सो शिविरमा ३०० महिलाले सेवा लिएका थिए । सो नगरपालिका र हेलम्बु गाउँपालिकामा एक हजार गर्भवती रहेका र तिनलाई तत्काल स्वास्थ्य सेवा आवश्यक रहेको जनाइएको छ । उनले भने, “विपद्का अवस्थामा गाँस, बास र कपासपछि पहिलो प्राथमिकतामा प्रजनन स्वास्थ्य सेवा तत्काल आवश्यक पर्छ । यही आवश्यकतालाई ध्यान दिई स्वास्थ्य शिविर आयोजना गरेका हौँ । स्थानीयवासीबाट पुनः माग भएमा शिविर सञ्चालन गर्न तयार छौँ ।”

सङ्घले छ दशकभन्दा बढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । सङ्घका प्रशासक डा नरेशप्रताप केसीले सस्थाले स्थानीयवासीको मागअनुसार एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए । सङ्घले सोही अवसरमा सो नगरपालिकामा आवश्यक पर्ने परिवार नियोजनको अस्थायी साधन तथा महिलाका लागि ‘डिग्निटी किट’ हस्तान्तरण गरेको सङ्घका पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिए । नगरप्रमुख डम्बरबहादुर अर्याललाई सङ्घका कार्यक्रम अधिकृत श्रेष्ठले ती सामग्री हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस