देउवा प्रधानमन्त्री भएपछि किन गए गच्छदार अदालत ?

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १५ : ०८
देउवा प्रधानमन्त्री भएपछि किन गए गच्छदार अदालत ?

काठमाडौँ । नेपाली काँग्रेस नेता विजयकुमार गच्छदारलाई ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको मुद्दा लागेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदासम्म गच्छदार गुपचुप बसे । जब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने, तब ललिता निवास प्रकरणमा भ्रष्टाचार गरेको मुद्दा लागेका नेपाली काँग्रेस नेता विजयकुमार गच्छदार थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित भएका छन् । 

बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कीर्ते गरी व्यक्तिको नाममा दर्ता गर्ने काममा मन्त्रिपरिषद्मा प्रस्ताव लैजान विभागीय मन्त्रीको रुपमा कार्य गरेको भन्दै गच्छदारविरुद्ध मुद्दा दायर भएको हो। आफ्नै पार्टी सभापति देउवा प्रधानमन्त्री भएपछि सहजै छुटकारा मिल्छ भन्ने भरोसाका साथ गच्छदार विशेष अदालतमा उपस्थित भएका नेकपा एमाले नेताको बुझाइ छ ।

एमाले एक नेताका अनुसार गच्छदारलाई ललिता निवास प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेको छ, केपी ओलीले त भ्रष्टचारीलाई छोडदिनँ भनेका थिए, तर ओली सरकार सत्ताच्युत भएपछि आफ्नो देउवा सरकारले त अवश्य बचाउँछन् भनेर नै उनी अदालत गएका हुन् ।

न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा गच्छदारको मुद्दामाथि बहस भइरहेको छ । अदालतले २०७६ फागुन १९ गते नै म्याद सम्बन्धित जिल्ला अदालतमार्फत् पठाए पनि लामो समय गच्छदारले म्याद बुझ्न आलटाल गरेका थिए, तर अहिले अचानक उनी अदालत हाजिर भएका छन् ।

ललिता निवास प्रकरणमा आरोपित गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते मुद्दा दर्ता गरेको थियो । मुद्दा दर्ताको करिब एक महिनापछि गच्छदारको म्याद स्थायी ठेगाना सुनसरी पठाइएको थियो । सुनसरी दुहवी नगरपालिका–२ स्थित उनको स्थायी ठेगानामा जिल्ला अदालत सुनसरीमार्फत म्याद पठाइएको हो । म्याद पठाएसँगै कोरोना कहर सुरु भएपछि अदालतका काम कारबाही केही समय बन्द भएको थियो । 

प्रतिक्रिया दिनुहोस