पाँच विद्यार्थी संगठनद्वारा आयल निगमको थानकोट डिपोमा  धर्ना

सफल खबर संवाददाता

बुधबार, ३० असार २०७८, १२ : ४६
पाँच विद्यार्थी संगठनद्वारा आयल निगमको थानकोट डिपोमा  धर्ना

काठमाडौं । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै आन्दोलनरत पाँच विद्यार्थी संगठनहरुले थानकोटस्थित नेपाल आयल निगमको डिपोमा धर्ना दिएका छन् ।

नेविसंघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू माधव नेपाल समूह, समाजवादी विद्यार्थी युनियन उपेन्द्र यादव समूह र अखिल छैठौंका नेताहरु बुधबार बिहान साढे नौ बजेदेखि धर्नामा बसेका हुन् ।

असार २९ गतेसम्मको अल्टिमेटमभित्र पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नगरिएकाले थानकोटस्थित डिपो रहेको बागमती प्रादेशिक कार्यालय अगाडि धर्नामा बसेको अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।

इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै पाँच विद्यार्थी संगठनहरुले आजबाट देशभरका पेट्रोल पम्प, इन्धन ढुवानी ट्यांकर र नेपाल आयल निगमका बिक्री डिपो बन्द गर्ने कार्यक्रम घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिइएसम्म आन्दोलन नरोकिने पाँच विद्यार्थी संगठनले चेतावनी दिएका छन् ।

गत असार २८ गते नेपाल आयल निगम र पाँच विद्यार्थी संगठनबीच वार्तासमेत भएको थियो । तर, सो वार्ता विफल भएपछि उनीहरुले दोस्रो चरणको आन्दोलन शुरु गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस