आईपीएल : सन्दीप सहभागी टिम दिल्लीको लगातार दोस्रो हार, राजस्थानको पहिलो जित

विहीबार, २९ चैत्र २०७४, ०८ : ३९
आईपीएल : सन्दीप सहभागी टिम दिल्लीको लगातार दोस्रो हार, राजस्थानको पहिलो जित

 

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछाने सहभागी टिम दिल्ली डेयरडेभिल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो हार बेहोरेको छ । बुधबार राति राजस्थान रोयल्ससँग डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १० रनले पराजित हुँदै दिल्लीले लगातार दोस्रो हार बेहोरेको हो ।

जितपुरस्थित सवाई मनसिंह रंगशालामा वर्षाले प्रभावित भएपछि खेल ६ ओभरमा झारिएको थियो । राजस्थानले १५३ रन बनाएर खेलिरहदा खेल बर्षाले रोकिएको थियो । बर्षा रोकिएपछि डिएलको आधारमा दिल्लीले जितको लागि ६ ओभरमा ७१ रनको लक्ष्य पाएको थियो ।

राजस्थानले दिएको ७१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ्ग गरेको दिल्लीले पुरै  ६ ओभर खेल्दै ४ विकेट गुमाएर मात्र ६० रन बनाउन सक्यो । दिल्लीको लागि रिषाभ पन्तले २० तथा ग्लेन म्याक्सवेल र क्रिस मोरिसले समान १७ – १७ रन जोडेपनि टोलीलाई जित दिलाउन सकेनन् । राजस्थानको लागि बेन लौघ्लिनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले बर्षाले खेल प्रभावित गर्नुअघि १७ ओभर ५ बलमा ५ विकेट गुमाएर १५३ रन जोडेको थियो । राजस्थानको लागि कप्तान अजिन्का रहाने ४५ तथा सन्जु सामसनले ३७ रन जोडेका थिए । यस्तै जोस बटलरले २९, बेन स्टोक्सले १६ तथा राहुल त्रिपाठीले अविजित १५ रन जोडे । दिल्लीका शाहबाज निदमले २ विकेट लिए ।

यो जितसँगै राजस्थानले दुई खेलमा पहिलो जित निकालेको छ । जितसँगै २ अंक जोडेको राजस्थान लिगको पाँचौ स्थानमा रहेको छ । राजस्थान पहिलो खेलमा सनराइजर्स हैदराबादसँग ९ विकेटले पराजित भएको थियो ।

यता, लगातार दुई खेल गुमाएको सन्दिपको टोली दिल्ली लिगको पुछारमा रहेको छ । पहिलोपटक आईपीएल टिममा परेका सन्दिपले दिल्लीको जर्सीमा मैदान उत्रन भने पाएका छैनन् । दुई खेलको हारसँगै दिल्लीको प्ले अफमा पुग्ने सम्भावना कमजोर बनेको छ । दिल्ली पहिलो खेलमा किंग्स इलाभेन पञ्जाबसँग ६ विकेटले दिल्ली पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस