इन्जुरी समयमा रोनाल्डोको गोल, पराजित रियल सेमिफाइनलमा

एजेन्सी

विहीबार, २९ चैत्र २०७४, ०८ : २८
इन्जुरी समयमा रोनाल्डोको गोल, पराजित रियल सेमिफाइनलमा


साबिकको विजेता तथा स्पेनिस जाइन्ट रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति क्वाटरफाइनलको दोस्रो लेगमा इटालियन क्लब युभेन्टससँग ३ – १ ले पराजित भएपनि समग्रमा ४ – ३ को जित निकाल्दै रियल सेमिफाइनलमा पुगेको हो ।

रियलको घरेलु मैदानमा भएको सनसनीपूर्ण दोस्रो लेगमा ३ – १ को जित निकालेपनि युभेन्टस सेमिफाइनलमा पुग्न सकेन । दोस्रो लेगको अन्तिम समय १० खेलाडीमा सिमित भएको युभेन्टसका लागि  मारियो मान्डुज्कीले दुई तथा ब्लेज माटूइडीले एक गोल गरे । तर, घरेलु मैदानमा भएको पहिलो लेगमा बेहोरेको ३ – ० को हारले युभेन्टस सेमिफाइनलमा पुग्नबाट बन्चित भएको हो । गत सिजनको फाइनलमा पनि युभेन्टस रियलसँग ४ – १ ले स्तब्ध बनेको थियो ।

यता, रियलको सेमिफाइनल यात्रामा क्रिस्टियानो रोनाल्डो नायक बने । पहिलो लेगमा दुई गोल गरेका रोनाल्डोले दोस्रो लेगको इन्जुरी समयमा गोल गर्दै रियललाई अन्तिम चारको यात्रा तय गराए । युभेन्टससँग ३ – ० ले पछि परेको अवस्थामा रोनाल्डोले इन्जुरी समयमा पेनाल्टीबाट गोल गर्दै घरेलु टोलीको सेमिफाइनल यात्रा पक्का गराएका थिए ।

सान्टियागो बेर्नाबेउमा खेलको अन्तिम दुई मिनेट बाँकी रहदा रियलका लुकास भास्क्वेजलाई युभेन्टसका डिफेन्डर माइकल ओलिभरले डिबक्सभित्र फल गरेपनि रियलले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टी अवसरमा रोनाल्डोले सहजै गोल गर्दै रियललाई सेमिफाइनल पुर्याउन सफल भए । योसँगै रोनाल्डोले १५० च्याम्पियन्स लिग खेलमा १२० गोल गर्न सफल भए ।

त्यसअघि मान्डुज्कीले खेलको दोस्रो र ३७ औं मिनेटमा गोल गर्दै युभेन्टसलाई पहिलो हाफमा २ – ० को अग्रता दिलाएका थिए । यस्तै दोस्रो हाफको ६१ औं मिनेटमा गोल माटूइडीले गोल गर्दै युभेन्टसलाई ३ – ० को अग्रतासहित उत्कृष्ट पुनरागमन गराएका थिए ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको अन्तिम समयमा कप्तान जियानलुइजी बुफोनले रातो कार्ड पाएपछि युभेन्टस १० खेलाडीमा सिमित भएको थियो । कुल १० पहेलो कार्ड देखाइएको खेलमा रियलले पेनाल्टी प्राप्त गरेपछि रेफ्रीसँग बादविवाद गर्दा बुफोनले रातो कार्ड पाएका थिए ।

रियल र युभेन्टसबीचको खेलसँगै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने चारै टोलीको तय भएको छ । यो सिजन रियलसँगै जर्मन क्लब वायर्न म्युनिख, इन्ग्लिश क्लब लिभरपुल र इटालियन क्लब रोमाले सेमिफाइनलमा स्थान बनाएका छन् । सेमिफाइनल ड्र शुक्रबार हुनेछ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस