रोमाको उत्कृष्ट पुनरागमन, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

एजेन्सी

बुधबार, २८ चैत्र २०७४, ०७ : ५९
रोमाको उत्कृष्ट पुनरागमन, बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो


स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ । इटालियन क्लब रोमाले दोस्रो लेगमा सनसनीपूर्ण प्रदर्शन गरेपछि बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको हो ।

घरेलु मैदानमा भएको पहिलो लेगमा ४ – १ को अग्रता लिएको बार्सिलोना मंगलबार राति भएको दोस्रो लेगमा रोमासँग ३ – ० ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । दोस्रो लेग खेलसँगै क्वाटरफाइनलको समग्र नतिजा ४ – ४ गोलको बराबरी हुँदा रोमाले अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनायो । दोस्रो लेगमा गोल गर्न नसक्दा बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिन पुगेको हो ।

बार्सिलोनाविरुद्ध दोस्रो लेगमा शानदार जित निकाल्न रोमाका लागि इडेन डेज्को,ड्यानियल डी रोसी र कोन्सटानटिनोस मानोलासले समान एक एक गोल गरे । ओलम्पिक स्टेडियममा खेलको छैटौं मिनेटमा डेज्कोले गोल गर्दै रोमालाई सुरुवाती अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १ – ० ले अघि रहेको रोमाले दोस्रो हाफमा २ गोल गर्यो । खेलको ५८ औं मिनेटमा रोसीले पेनाल्टीमा गोल गर्दै रोमाको अग्रता दोब्बर बनायो । त्यसपछि खेलको ८२ औं मिनेटमा मानोलासले गोल गर्दै रोमालाई ३ – ० को सनसनीपूर्ण जित दिलाए । रोमाबिरुद्ध बल पोजिसनमा पकड जमाएपनि बार्सिलोनाले गोल फर्काउन सकेन र क्वाटरफाइनलबाटै बाहिरिन पुग्यो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस