नवलपरासीमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा

रासस

शनिबार, १९ असार २०७८, १२ : २१
नवलपरासीमा पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा

नवलपरासी । नवलपरासी बर्दघाट–सुस्तापूर्वको कावासोती–१६ डण्डामा रहेको मध्यविन्दु जिल्ला अस्पतालले जिल्लामा नै पहिलोपटक शल्यक्रियाबाट प्रसूति सेवा प्रदान गरेको छ । अस्पतालले शुक्रबार साँझ शल्यक्रियामार्फत सफलरुपमा प्रसूति गराएको हो । 

अस्पतालका एमजिडिपी जनरल प्राक्टिसमा स्नातकोत्तर गरेका० चिकित्सक कमलराज न्यौपाने तथा उनको टोलीले सफलतापूर्वक शल्यक्रिया गरेर प्रसूति गराएको अस्पताल व्यवस्थापन समितिका सदस्य नरनाथ पाण्डेले बताए । “जिल्ला अस्पतालबाट सामान्य प्रसूति सेवा उपलब्ध भइरहेको थियो”, पाण्डेले भने, “तर हिजो भने जिल्लामै पहिलोपटक शल्यक्रिया गरेर प्रसूति गराउन सफल भएका छौँ ।” हालसम्म जिल्लाका अन्य कुनै पनि अस्पतालले शल्यक्रियाबाट प्रसूति गराएका थिएनन् । 

अस्पतालमा कावासोती–१२ की २६ वर्षीया गर्भवती मधु सुनारको शल्यक्रियाबाट प्रसूति गराइएको हो । “बिरामीमा प्रसूतिसम्बन्धी कडा खालको लक्षण देखिएको थियो, फेरि हिजो भरतपुर लैजानका लागि सडकसमेत अवरुद्ध भएका कारण यहाँका चिकित्सकले ठूलो जोखिम लिएर शल्यक्रियाबाट प्रसूति गराउनुभयो”, पाण्डेले भने, “सामान्यतया ३८ हप्तामा सुत्केरी हुनुपर्नेमा उहाँको गर्भ रहेको ४० हप्ता चार दिन भइसकेको रहेछ, त्यसैले पनि उहाँको अवस्था अलि जटिल थियो ।” 

एमजिडिपी चिकित्सकसहित बाल रोग विशेषज्ञ तथा तीनजना कन्सल्टेन्ट चिकित्सक तथा उहाँहरुको समूहले सुनारको सुरक्षित रुपमा प्रसूति गराएको पाण्डेको भनाइ थियो । सुनारको शल्यक्रियाबाट तीन किलो ३०० ग्रामको स्वस्थ शिशु जन्माइएको भन्दै अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था राम्रो भएको पाण्डेले बताए । “गर्भवतीको अवस्था क्रिटिकल भएर डर लागेको भए पनि कन्फिटेन्स भएर आफूहरुले सुरक्षित रुपमा प्रसूति गराएको शल्यक्रियामा संलग्न डाक्टरहरुले बताए ”, पाण्डेले भने, “अब प्रसूति गराउन भरतपुर लैजानुपर्ने समस्या हटेको छ, हामीले जस्तोसुकै जटिल प्रकारका प्रसूति पनि गराउन सक्छौँ भन्ने आत्मविश्वास यहाँका डाक्टरहरुमा पलाएको छ ।” अस्पतालमा केही समय अगाडिसम्म स्त्री तथा प्रसूति रोग विशेषज्ञ रहेका भए पनि हाल दरबन्दी रिक्त हुँदा स्त्री तथा प्रसूति रोग विशेषज्ञको माग गरिएको पाण्डेले बताए । 
 

प्रतिक्रिया दिनुहोस