युरोकप : क्वार्टरफाइल अन्तर्गतका खेल आजबाट

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १५ : ५१
युरोकप : क्वार्टरफाइल अन्तर्गतका खेल आजबाट

काठमाडौँ । जारी १६ औं संस्करणको युरोकप अन्तर्गत क्वार्टरफाइनलका खेलहरु आजदेखि सुरु हुँदैछन् । क्वार्टरफाइनल अन्तर्गतका दुईवटा खेलहरु आज हुनेछन् । जसमध्ये पहिलो खेलमा स्वीट्जरल्याण्ड र स्पेन तथा दोस्रो खेलमा बेल्जियम र इटली आमनेसामने हुनेछन् ।

पहिलो खेलमा प्रथम पटक युरोको क्वाटरफाइनल पुगेको स्वीट्जरल्याण्ड र सर्वाधिक ३ पटकको विजेता स्पेनबीचको खेल राति ९ः४५ बजे हुनेछ भने दोस्रो खेल बेल्जियमले इटालीसँग १२ः४५ देखि प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल रुसको सेन्ट पिटर्सवर्गमा हुनेछ । यस्तै दोस्रो खेल जर्मनीको म्युनिखमा हुनेछ ।

अन्तिम १६ को खेलमा स्वीट्जरल्याण्डले साविक उपविजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको थियो । यस्तै स्पेनले अतिरिक्त समयमा क्रोएसियालाई ५–३ ले गोलअन्तरले पराजित गरेको थियो ।

स्वीट्जरल्याण्ड ६७ वर्षपछि ठूलो प्रतियोगितामा क्वाटरफाइनल पुगेको हो । स्वीट्जरल्याण्डले पछिल्लो पटक सन् १९५४ मा विश्वकपको क्वाटरफाइनल खेलेको थियो ।

स्पेन २०१६ को युरोकपमा क्वाटरफाइनलबाटै बाहिरिएको थियो । सन् १९६४ को दोस्रो संस्करणको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा लगातार युरोकप उपाधि जित्दै यस्तो उपलब्धि हासिल गर्ने पहिलो टिमको कीर्तिमान बनाएको थियो ।

यता दोस्रो खेलमा भिड्ने दुवै टोली अहिलेसम्म शतप्रतिशत जितसहित क्वाटरफाइनल पुगेका छन् । छनोटमा पनि दुवै टोलीले सबै १० खेल जितेका थिए । त्यसैले पनि यो खेल रोमाञ्चक बन्ने अपेक्षा छ । हार्ने टोली युरोकपबाट बाहिरिनेछ ।

इटली लगातार ३१ खेलमा अपराजित छ । पछिल्लो खेलमा अष्ट्रियाविरुद्ध गोल खानुअघि इटलीले लगातार ११ खेलमा क्लिनसिट राखेको थियो । समूह चरणमा कुनै गोल नखाई ३ खेल जितेको इटलीले अन्तिम १६ मा अष्ट्रियालाई अतिरिक्त समयमा २–१ ले पराजित गरेको थियो ।

उता विश्व नम्बर वान बेल्जियमले साविक विजेता पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । बेल्जियमको अहिलेको टोलीलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । यद्यपि बेल्जियमले कुनै प्रतियोगिता जित्न सकेको छैन ।क्वाटरफाइनलका बाँकी दुई खेल शनिबार हुनेछ ।

प्रतिक्रिया दिनुहोस