एमाले केन्द्रिय कमिटि बैठकमा भाग लिन उपाध्यक्ष वामदेव गौतम बालुवाटार प्रस्थान

सफल खबर संवाददाता

शुक्रबार, १८ असार २०७८, १० : ४२
एमाले केन्द्रिय कमिटि बैठकमा भाग लिन उपाध्यक्ष वामदेव गौतम बालुवाटार प्रस्थान

काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटि बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी हुने भएका छन् । त्यसका लागि  गौतम बालुवाटार प्रस्थान गरेका छन् । माधव र झलनाथ समुहका नेताहरु सो बैठकमा उपस्थित हुने नहुने अनिश्चित भएपनि गौतम भने सहभागी हुने  उनको सचिवालयले जनाएको छ ।

नेकपा विवादमा सर्वोच्चले एमाले ब्युँताइदिए यता पार्टीको बैठकमा वामदेव सहभागी भएका थिएनन् । पार्टी एकता बचाउने भन्दै छुट्टै कार्यक्रमहरु गर्दै आएका थिए ।  यता, हिजो  माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यको भेलाले आजको बैठकमा सहभागी नहुने निर्णय गरेको थियो । नवौं महाधिवेशनबाट निर्वाचित स्थायी कमिटीको बैठक बसेर मात्र केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने उनीहरुले माग गरेका छन् । 

यसअघि नेपाल पक्षले गत फागुन २८ गते गरेका निर्णय सच्याएर जेठ २ गतेको अवस्थामा फर्किनु पर्ने अडान राख्दै आएको थियो । नेपाल पक्षको मागबमोजिम बुधवार दशौं महाधिवेशन आयोजक कमिटीको बैठकले २०७५ जेठ २ अघिकै केन्द्रीय कमिटी ब्युँताउँदै शुक्रवारका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

केन्द्रिय कमिटि बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको भावी रणनीति बारे छलफल हुने बताईएको छ । एमाले पार्टी केन्द्रीय कार्यालयका बस्ने बैठक ११ बजेलाई निर्धारण गरिएको सचिव शेरबहादुर तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस