मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण

रासस

मंगलबार, १५ असार २०७८, १३ : २८
मध्यपहाडी राजमार्गमा ८६ पुल निर्माण

सांकेतिक तस्वीर

काठमाडौं । राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्गमा पर्ने ८६ पुलको निर्माण सम्पन्न भएको छ । डिजाइनअनुसार जम्मा १२९ पुल निर्माण गर्नुपर्नेमा कतिपय पुल निर्माणाधीन र कतिपय डिजाइनका चरणमा रहेको मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालय जनाएको छ । 

आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको सो राजमार्गमा अझै २१ पुलको ठेक्का सम्झौता हुन बाँकी रहेको निर्देशनालयका प्रमुख अर्जुन अर्यालले बताए । उनका अनुसार हालसम्म २२ पुल निर्माणाधीन छन् भने र २१ पुल ठेक्का हुन बाँकी छ । निर्माण शुरु हुन बाँकी पुलमध्ये अहिले सात पुलका ठेक्का भइसकेको र चार वटा ठेक्का सम्झौताका लागि सूचना निकाल्ने चरणमा थियो । 

ती बाहेकका अरु पुलसमेत ठेक्का निकाल्ने क्रममा भए पनि निषेधाज्ञाका समयमा ठेक्का निकाल्न नपाइने सर्वोच्च अदालतको निर्णयका कारण अघि बढ्न नसकिएको उनले बताए । उनले भने, “दुईचार वटा पुलका ठेक्का निकाल्ने तयारी भए पनि कोभिड र निषेधाज्ञाको कारणले सकिएको छैन ।” 

चालु आबमा सो आयोजनामा अहिलेसम्म तीन पुल मात्रै सम्पन्न भएको छ । त्योभन्दा धरै सङ्ख्यामा सम्पन्न गर्न लक्ष्य भएपनि विभिन्न समस्याका कारण लक्ष्यअनुसार नभएको उनले बताए । हाल निर्माणाधीन २२ पुलमध्ये सात सक्ने लक्ष्य भए पनि त्यसअनुसार प्रगति नभएको उनका भनाइ छ । उनले भने, “अझै पनि मसान्तसम्ममा केही सङ्ख्या थपिनसक्छ ।” 

मध्यपहाडका विभिन्न जिल्लालाई जोड्ने सो राजमार्गलाई देशको मध्यपहाडको विकासको आधारमा रूपमा सरकारले अघि बढाएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग, हुलाकी राजमार्ग पछि पूर्वदेखि पश्चिम जोड्ने तेस्रो राजमार्गका रूपमा यो राजमार्ग रहेको छ । पाँचथर जिल्लाको चियो भञ्ज्याङबाट शुरु भएको बैतडीको झुलाघाटसम्म रहेको छ । राजमार्ग निर्माणसँगै नयाँ शहर विकास हुने अपेक्षा गरिएको छ ।

आव २०७९/८० सम्ममा आयोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । आयोजनामा अझै कतिपय स्थानमा रेखाङ्कन परिवर्तन गर्नुपर्ने माग भइरहेको छ । पुल निर्माणका लागि दुई तीन वर्ष समय लाग्ने भएकाले लक्ष्यअनुसार समयम सम्पन्न गर्न बाँकी स्थानमा सडक र पुल निर्माणका लागि प्रक्रिया अघि बढाइनुपर्ने सडक विभागले बताउँदै आएको छ । 

प्रतिक्रिया दिनुहोस